भारतको गंगा नदीमा डुंगा पल्टिँदा १३ बालबालिकाको मृत्यु

लोकपथ
7
Shares

काठमाडौं । भारतको बिहारस्थित वैशाली जिल्लामा गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १३ बालबालिकाको मृत्यु भएको छ । मंगलबार राति भएको दुर्घटनामा डुंगामा सवार सात जनाको उद्धार गरिएको छ ।

स्थानीय बासिन्दा भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा दुर्घटना भएको हो । करिब २० जना सवार रहेको सानो डुंगा नदीमा पल्टिएको थियो ।

वैशालीकी जिल्ला अधिकारी वर्षा सिंहका अनुसार उद्धार गरिएका सात जनालाई नालन्दा मेडिकल कलेज तथा अस्पताल लगिएको थियो । घाइतेमध्ये केहीलाई थप उपचारका लागि पटनासमेत पठाइएको छ । डुंगामा सवार सबै बालबालिकाको उमेर १५ वर्ष वा सोभन्दा कम रहेको उनले बताइन् ।

दुर्घटनापछि रातभर उद्धार कार्य जारी राखिएको थियो । उद्धारका लागि राज्य विपद् प्रतिकार्य बल ९एसडीआरएफ० र स्थानीय गोताखोर परिचालन गरिएको थियो । उद्धारका क्रममा १३ जनाको शव फेला परेको जिल्ला अधिकारी सिंहले जानकारी दिइन् ।

घटनापछि अवस्था बुझ्न अस्पताल पुगेकी जिल्ला अधिकारी सिंहविरुद्ध आक्रोशित स्थानीयले नाराबाजीसमेत गरेका थिए ।

दुर्घटनाप्रति दुःख व्यक्त गर्दै बिहारका मुख्यमन्त्री सम्राट चौधरीले मृतकका परिवारलाई प्रतिपरिवार चार लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् । उनले उद्धार कार्य तीव्र बनाउन र घाइतेलाई गुणस्तरीय उपचार उपलब्ध गराउन प्रशासनलाई निर्देशन दिएका छन् ।

यसैगरी, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका प्रत्येक परिवारका निकटतम सदस्यलाई दुई लाख भारतीय रुपैयाँ र घाइतेलाई जनही ५० हजार भारतीय रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।

मुख्यमन्त्री चौधरी र प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?