काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस युक्रेनसँगको युद्ध अन्त्य गर्न शान्ति सम्झौताका लागि तयार रहेको दाबी गरेका छन् ।
उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सम्झौताको पक्षमा रहे पनि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की वार्ता अघि बढाउन अनिच्छुक देखिएको आरोप लगाएका छन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले जेलेन्स्कीले चाहेको भए रुस–युक्रेन युद्ध धेरै पहिले नै अन्त्य भइसक्ने दाबी गरे । उनले युक्रेनमा नयाँ निर्वाचन गराउनुपर्ने टिप्पणी गर्दै युक्रेनी नेतृत्वको अडानका कारण युद्ध लम्बिएको आरोपसमेत लगाए ।
ट्रम्पका अनुसार पुटिन युद्ध अन्त्यका लागि इच्छुक छन् र सम्झौतामार्फत द्वन्द्व समाधान गर्न तयार छन् ।
यसअघि ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता भएको थियो । उक्त वार्तापछि ट्रम्पले रुसले अमेरिका तथा विश्व बजारमा सस्तो मूल्यमा डिजेल इन्धन आपूर्ति गर्ने समझदारी भएको घोषणा गरेका छन् । उनले सस्तो मूल्यमा इन्धन उपलब्ध गराएर रुसले विश्वलाई राहत दिन खोजेको भन्दै पुटिनको प्रशंसा गरेका छन् ।
तर, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने ट्रम्प र पुटिनबीच भएको ऊर्जा सम्झौताप्रति असन्तुष्टि जनाएका छन् । थप ऊर्जा बिक्रीबाट प्राप्त आम्दानीले युक्रेनविरुद्धको रुसी सैन्य कारबाहीलाई आर्थिक सहयोग पुग्ने उनको चेतावनी छ ।
यसैबीच, रुस–युक्रेन युद्ध अन्त्यका लागि कूटनीतिक पहल पनि तीव्र पारिएको छ । अमेरिकी विशेष दूत स्टिभ विटकफ र जेरेड कुश्नरले शुक्रबार मियामीमा युक्रेनी तथा युरोपेली प्रतिनिधिहरूसँग वार्ता गरेका छन् ।
यद्यपि, मस्कोले भने हालै रुसमा सम्पन्न संसदीय निर्वाचनका क्रममा युक्रेनले गरेको ड्रोन आक्रमणले तत्काल शान्ति वार्ता पुनः सुरु गर्ने सम्भावना कमजोर बनाएको जनाएको छ ।
युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास भइरहे पनि रुस र युक्रेनबीचको मतभेद तथा ऊर्जा व्यापारसम्बन्धी विवादले शान्ति प्रक्रियालाई थप जटिल बनाउने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया