काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको आरोप लगाएका छन् ।
उनले आगामी निर्वाचनमा पनि एमालेविरुद्ध मोर्चाबन्दी हुन सक्ने भन्दै त्यसको एकजुट भएर प्रतिवाद गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा बोल्दै ओलीले २०७७ सालदेखि नै एमालेविरुद्ध घेराबन्दी सुरु भएको दाबी गरे ।
उनका अनुसार २०७७ सालमा पार्टी कब्जा गरेर ध्वस्त पार्ने प्रयास असफल भएपछि २०७८ साल भदौ १० गते पार्टी विभाजन गराइएको थियो । त्यसपछि २०७९ सालको निर्वाचनमा पनि विभिन्न राजनीतिक दल एमालेविरुद्ध एकजुट भएको उनले बताए ।
त्यस्तो परिस्थितिमा पनि एमाले लोकप्रिय पार्टी बनेको दाबी गर्दै ओलीले अहिले पनि सामाजिक सञ्जालमार्फत पार्टी र नेताहरूको चरित्रहत्या गर्ने तथा जनतामाझ अलोकप्रिय बनाउने प्रयास भइरहेको आरोप लगाए ।
पार्टीभित्रकै केही नेताका गतिविधिले थप चुनौती सिर्जना गरेको उल्लेख गर्दै उनले अब आन्तरिक विवादमा अल्झिनुभन्दा एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए ।
‘हाम्रो अगाडि निर्वाचन आउँदैछ र यस निर्वाचनमा पनि हामीलाई घेर्ने काम हुन सक्छ, हामीविरुद्धको घेराबन्दी सिद्धिएको छैन । यो अहिले पनि चालू छ,’ उनले भने ।
ओलीले एमाले सत्य, समानता र मानवताको बाटोमा अघि बढेको पार्टी भएको उल्लेख गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने लक्ष्य पूरा गर्न पार्टीभित्र सुदृढ एकता आवश्यक रहेको बताए ।
यसैगरी, ओलीले नेपालमा लोकतन्त्र कमजोर बनाउने काम भइरहेको आरोप लगाए । नेपालको राष्ट्रिय अस्मितामा आँच पुर्याउँदै स्वाधीनता र स्वतन्त्रता कमजोर बनाइएको उनको दाबी थियो ।
उनले लोकतन्त्र, राष्ट्रिय अस्मिता, स्वाधीनता र स्वतन्त्रताको पुनःस्थापनाका लागि आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने बताए । आन्दोलनका क्रममा दमन भए त्यसको प्रतिवाद गर्नुपर्ने उनको भनाइ थियो ।
ओलीले आन्दोलन न्याय, शान्ति र अग्रगमनका लागि हुनुपर्ने बताउँदै आगजनी र लुटपाटलाई आन्दोलन भन्न नमिल्ने उल्लेख गरे ।
‘आगो लगाउनु आन्दोलन होइन, लुटपाट गर्नु आन्दोलन होइन । गलतका विरुद्ध, अग्रगमनका लागि, न्यायका लागि, शान्तिका लागि र दमनका विरुद्ध आन्दोलन गर्नुपर्ने हुन्छ,’ उनले भने ।
उनले पार्टीका सदस्यहरूलाई निष्ठापूर्वक सक्रियताका साथ काम गर्न निर्देशन दिँदै अब विगतको योगदानलाई मात्र आधार बनाएर मूल्यांकन नगरिने बताए । पार्टीको नीति र नेतृत्वप्रतिको इमानदारिता तथा कर्मशीलतालाई पनि मूल्यांकनको आधार बनाइने उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया