विद्युतीय सवारी र चार्जिङ स्टेसनमा कर लगाएकोमा कुलमानको आपत्ति

लोकपथ
49
Shares

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युतीय सवारीसाधन र चार्जिङ स्टेसनमा सरकारले लगाएको कर तथा भन्सार शुल्कप्रति आपत्ति जनाएका छन् ।

आज काठमाडौंमा जेलियो ईभी स्कुटरको नयाँ मोडल सार्वजनिक तथा आधिकारिक शोरुम उद्घाटन कार्यक्रममा बोल्दै उनले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने समयमा कर तथा भन्सार शुल्क बढाउनु गलत नीति भएको बताएका हुन् ।

घिसिङले चार्जिङ स्टेसनमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र ८० प्रतिशतसम्म पुर्‍याइएको भन्सार शुल्कले विद्युतीय सवारीसाधनको प्रवर्द्धनमा बाधा पुर्‍याउने बताए ।

‘हामी आत्मनिर्भर अर्थतन्त्रतर्फ जानुपर्छ भनिरहेका छौँ, तर सरकारले बिजुलीमा भ्याट र ८० प्रतिशतसम्म भन्सार शुल्क लगाएर गलत नीति अँगालेको छ,’ उनले भने, ‘यसले पेट्रोल, डिजेल र ग्यासको परनिर्भरता घटाउने अभियानलाई कमजोर बनाउँछ ।’

घिसिङले पेट्रोलियम पदार्थको आयात घटाउन सरकारले विद्युतीय सवारीसाधन र चार्जिङ पूर्वाधारमा थप सहुलियत दिनुपर्नेमा जोड दिए । उनका अनुसार नेपालले वार्षिक चारदेखि पाँच खर्ब रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ ।

पेट्रोल, डिजेल र ग्यासमाथिको परनिर्भरता अन्त्य गर्न यातायात र भान्सामा विद्युतीय ऊर्जाको प्रयोग बढाउनुपर्ने उनको भनाइ छ । यसका लागि विद्युतीय गाडी, चार्जिङ पूर्वाधार र इन्डक्सन चुलोको प्रयोग विस्तार गर्दै देशलाई तीव्र गतिमा आत्मनिर्भर अर्थतन्त्रतर्फ लैजानुपर्ने उनले बताए ।

घिसिङले ऊर्जा क्षेत्रमा विद्युतीय प्रविधिको प्रयोग विस्तार गर्न सके पेट्रोलियम पदार्थको आयात घटाउनुका साथै देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?