काठमाडौं । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले उद्योगीहरूसँगको विद्युत् बक्यौता असुलीमा कडाइ गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।
शनिबार कुलेखानी जलाशयको निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले उद्योगहरूलाई मागअनुसार विद्युत् उपलब्ध गराउने व्यवस्था सुनिश्चित गर्दै बक्यौता असुलीमा पनि कडाइ गर्न निर्देशन दिएका हुन् ।
हेटौँडा औद्योगिक क्षेत्रमा हाल करिब ४० मेगावाट विद्युत्को माग रहेको भन्दै उनले उक्त माग सम्बोधन गर्न प्राधिकरणलाई आग्रह गरे । साथै, विद्युत् बक्यौता रहेका उद्योगहरूलाई परिपत्रमार्फत ताकेता गर्न उनले निर्देशन दिए ।
‘हेटौँडा औद्योगिक क्षेत्रमा ४० मेगावाट बिजुलीको माग भएको छ । यो मागको सम्बोधनका साथै बक्यौता भएका उद्योगहरूलाई परिपत्रमार्फत ताकेता गरौँ,’ मन्त्री श्रेष्ठले भने ।
मन्त्री श्रेष्ठले विद्युत् प्राधिकरणले सूचना प्रवाहको प्रणालीमा समेत सुधार गर्नुपर्ने बताए । विद्युत् आपूर्तिमा समस्या भएरभन्दा पनि समयमै सूचना नपाउँदा नागरिकमा आक्रोश बढ्ने गरेको भन्दै उनले त्यसतर्फ विशेष ध्यान दिन प्राधिकरणलाई निर्देशन दिए ।
विद्युत् आपूर्ति तथा अवरोधसम्बन्धी जानकारी नागरिकलाई समयमै उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्नेमा उनले जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया