बाढीपहिरोबाट प्रभावित नेपाललाई आपत्कालीन सहयोग गर्ने चीनको निर्णय

लोकपथ
63
Shares

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले केरुङ क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित नेपालका क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा शुक्रबार बसेको सीपीसीको राजनीतिक ब्यूरो बैठकले विपत्तिको अवस्था समीक्षा गर्दै नेपाललाई सहयोग गर्ने निर्णय गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

बैठकमा केरुङ क्षेत्रमा आएको प्राकृतिक विपत्तिपछि भइरहेको उद्धार तथा राहतका कामबारे छलफल गरिएको थियो । राष्ट्रपति सीले उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्न निर्देशन दिएका छन् ।

बैठकको सुरुवातमा राष्ट्रपति सीसहित चिनियाँ नेताहरूले बुधबार ग्यिरोङको सीमा क्षेत्रमा भएको प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौनधारण गरेका थिए ।

चिनियाँ पक्षले प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र र व्यवस्थित रूपमा भइरहेको जनाएको छ । साथै, प्रभावित नागरिकको पुनर्स्थापना र विपत्तिपछिको व्यवस्थापनमा पनि काम भइरहेको बताइएको छ ।

बैठकले हिमाली क्षेत्रमा भएको विपत्तिका कारण उद्धारमा चुनौती रहेको जनाएको छ। उक्त क्षेत्रमा चिसो मौसम, भिराला भू–भाग, परिवर्तनशील मौसम, हिमनदी तथा हिमताल र भौगर्भिक जोखिम रहेकाले उद्धार कार्य कठिन भएको चिनियाँ पक्षले जनाएको छ ।

बेपत्ता भएका चिनियाँ तथा विदेशी नागरिकको खोजी तथा उद्धारका लागि सबै सम्भावित प्रयास गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?