काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामरिक तथा आर्थिक रूपमा महत्वपूर्ण होर्मुज जलसन्धिलाई छिट्टै संयुक्त राज्य अमेरिकाको भू-भाग घोषणा गर्ने बताएका छन् ।
शुक्रबार न्युयोर्कमा आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले इरान ‘नराम्रोसँग पराजित’ भइरहेको दाबी गर्दै इरानमाथि विजय हासिल गरेपछि होर्मुज जलसन्धिलाई अमेरिकी भूभाग घोषणा गर्ने बताएका हुन् ।
‘हामीले इरानलाई पराजित गरिसकेपछि, जुन अहिले नराम्रोसँग पराजित भइरहेको छ, म छिट्टै होर्मुज जलसन्धिलाई संयुक्त राज्य अमेरिकाको भूभाग घोषणा गर्नेछु,’ ट्रम्पले भनेका छन् । उनले अमेरिकाले जलसन्धिमा नाकाबन्दी कायम गरेको दाबी गर्दै आफ्नो अनुमति बिना कुनै पनि जहाज पार गर्न नसक्ने बताएका छन् ।
होर्मुज जलसन्धि विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक हो । युद्धअघि विश्वको समुद्री तेल आपूर्तिको करिब पाँचमध्ये एक हिस्सा यही जलमार्ग हुँदै आवतजावत हुने गरेको थियो । पछिल्लो समय अमेरिका–इरान तनाव र जलमार्गमा लगाइएको नाकाबन्दीका कारण यहाँबाट हुने जहाज आवतजावत अत्यन्तै घटेको छ ।
ट्रम्पको भनाइप्रति इरानले भने कडा प्रतिक्रिया जनाएको छ । इरानी उपविदेशमन्त्री काजेम घारिबाबादीले होर्मुज जलसन्धि खोल्ने वा बन्द गर्ने अधिकार इरानकै रहेको दाबी गर्दै अमेरिकी दबाबबाट आफूहरू नडराउने बताएका छन् ।
जलसन्धिलाई अमेरिकी भूभाग घोषणा गर्ने ट्रम्पको भनाइले अन्तर्राष्ट्रिय कानुन, समुद्री अधिकार र क्षेत्रीय सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ । जलसन्धि इरान र ओमानबीच रहेको अन्तर्राष्ट्रिय रूपमा महत्वपूर्ण सामुद्रिक मार्ग भएकाले अमेरिकी दाबी कार्यान्वयन भएमा यसको दूरगामी कूटनीतिक र आर्थिक प्रभाव पर्न सक्ने देखिन्छ ।
अमेरिका र इरानबीचको शान्ति वार्ता समेत अवरुद्ध रहेको अवस्थामा ट्रम्पको पछिल्लो घोषणाले दुई देशबीचको तनाव थप चर्किने संकेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया