काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ३९ करोड ८७ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको २१ करोड ६१ लाख ७० हजार रुपैयाँको तुलनामा कम्पनीको खुद नाफा ८४.४५ प्रतिशतले बढेको हो ।
कम्पनीको वित्तीय विवरणअनुसार गत वर्ष कुल कर्जा पोर्टफोलियो ५२.२५ प्रतिशतले बढेर १२ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । कर्जा विस्तारमा सवारी साधन वित्तीयकरणको योगदान महत्वपूर्ण रहेको कम्पनीले जनाएको छ ।
कर्जा कारोबार विस्तारसँगै कम्पनीको निष्क्रिय कर्जा (एनपीएल) अनुपातमा समेत सुधार आएको छ । अघिल्लो वर्ष ३.४० प्रतिशत रहेको एनपीएल गत वर्ष घटेर १.८७ प्रतिशतमा झरेको छ ।
गत वर्ष कम्पनीको कुल सम्पत्ति ८ अर्ब ४३ करोड रुपैयाँबाट बढेर १२ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कुल स्वपुँजी १ अर्ब ४९ करोड रुपैयाँबाट बढेर १ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको शुद्ध ब्याज आम्दानी पनि उल्लेख्य बढेको छ । अघिल्लो वर्ष २२ करोड १० लाख रुपैयाँ रहेको शुद्ध ब्याज आम्दानी गत वर्ष ४८ करोड ४६ लाख ५० हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ३३ करोड ५२ लाख ८० हजार रुपैयाँबाट बढेर ६१ करोड ४६ लाख ८० हजार रुपैयाँ पुगेको छ ।
प्रमुख वित्तीय सूचकमा समेत सुधार देखिएको छ । वार्षिकीकृत स्वपुँजी प्रतिफल (आरओई) १४.५२ प्रतिशतबाट बढेर २१.१२ प्रतिशत पुगेको छ भने वार्षिकीकृत आधारभूत प्रतिशेयर आम्दानी २६.०४ रुपैयाँबाट बढेर ४८.०४ रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीको कोषको लागत ६.४० प्रतिशतबाट घटेर ५.७७ प्रतिशतमा आएको छ भने ब्याजदर अन्तर १.९८ प्रतिशतबाट बढेर ३.३९ प्रतिशत पुगेको छ । कर्जा नोक्सानी व्यवस्थापनका लागि गरिएको प्रावधानको कभरेज ९२.३४ प्रतिशत पुगेको कम्पनीले जनाएको छ ।
निजी क्षेत्रमा कर्जा विस्तार सुस्त रहेको तथा वित्तीय क्षेत्रमा सम्पत्तिको गुणस्तरसम्बन्धी चुनौती कायमै रहे पनि व्यवसाय विस्तार, सञ्चालन दक्षता, जोखिम व्यवस्थापन र कर्जा असुलीमा सुधारका कारण वित्तीय प्रदर्शन बलियो बनाउन सफल भएको कम्पनीको भनाइ छ ।
कम्पनीले आगामी दिनमा कर्जा पोर्टफोलियो विस्तारलाई निरन्तरता दिँदै सम्पत्तिको गुणस्तर सुधार, कर्जा असुली प्रणालीलाई थप प्रभावकारी बनाउने र लगानी पोर्टफोलियो विविधीकरण गर्ने रणनीति अघि सारेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया