काठमाडौं । भारतीय अटो निर्माता महिन्द्राले आफ्नो नयाँ फ्ल्यागसिप इलेक्ट्रिक एसयूभी एक्सईभी ९एस नेपाल ल्याउने तयारी गरेको छ । कम्पनीले यो गाडी पहिलोपटक नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गर्ने जनाएको छ ।
महिन्द्राले यसअघि नेपालमा बीई ६ र एक्सईभी ९ई इलेक्ट्रिक एसयूभी सार्वजनिक गरिसकेको छ । अब एक्सईभी ९एस कम्पनीको नेपालका लागि पहिलो ७ सिटे इलेक्ट्रिक एसयूभी बन्ने भएको छ ।
कम्पनीका अनुसार एक्सईभी ९एस विशेषगरी ठूला परिवारलाई लक्षित गरी निर्माण गरिएको हो ।
डिजाइनतर्फ एक्सईभी ९एसमा एलईडी लाइट बार, नयाँ डिजाइनका हेडलाइट, फ्लस डोर ह्यान्डल, एरोडाइनामिक एलोय ह्विल र एलईडी टेललाइट जस्ता सुविधा दिइएको छ । गाडीमा २,७६२ एमएमको ह्विलबेस र २०५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ, जसले नेपाली सडकमा सहज ड्राइभिङ अनुभव दिने कम्पनीको दाबी छ ।
सामान राख्नका लागि यसमा ५२७ लिटरको बुट स्पेस उपलब्ध छ भने अगाडि १५० लिटर क्षमताको फ्रन्क पनि दिइएको छ ।
महिन्द्राले एक्सईभी ९एसलाई ५९, ७० र ७९ किलोवाट आवरका तीनवटा ब्याट्री विकल्पमा उपलब्ध गराउनेछ । यसले २२८ देखि २८२ हर्सपावरसम्म शक्ति उत्पादन गर्नेछ। पूर्ण चार्जमा यो एसयूभीले ५२१ देखि ६७९ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ ।
प्रदर्शनका हिसाबले एक्सईभी ९एसले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ७ देखि ७।९ सेकेन्डमा लिन सक्छ । यसको अधिकतम गति २०२ किलोमिटर प्रतिघण्टा रहेको छ ।
चार्जिङका लागि यसमा १७५ किलोवाटको डीसी फास्ट चार्जिङ सपोर्ट उपलब्ध छ। यसले छोटो समयमै ब्याट्री चार्ज गर्न सकिनेछ ।
नेपालमा सार्वजनिक भएपछि एक्सईभी ९एसले प्रिमियम इलेक्ट्रिक एसयूभी बजारमा नयाँ प्रतिस्पर्धा थप्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया