काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा सेवा चार दिनका लागि अस्थायी रूपमा अवरुद्ध हुने भएको छ । कम्पनीले साउन १४ गते राति ८ बजेदेखि साउन १८ गते बिहान ८ बजेसम्म सेवा बन्द रहने जनाएको छ ।
कम्पनीका अनुसार हाल प्रयोगमा रहेको ‘लाइफ इन्स्योरेन्स म्यानेजमेन्ट सिस्टम (आईसोलुसन)’लाई स्तरोन्नति गरी ‘आईसोलुसन भर्सन नेक्स्ट’मा प्रतिस्थापन गर्न लागिएकाले उक्त अवधिमा सेवा प्रभावित हुने भएको हो । नयाँ प्रणाली साउन १८ गते बिहान ८ बजेदेखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।
सेवा अवरुद्ध रहने अवधिमा कम्पनीको केन्द्रीय कार्यालय, शाखा तथा उपशाखाबाट प्रदान हुने बीमालेखसम्बन्धी सेवा, डिजिटल माध्यमबाट बीमाशुल्क भुक्तानी, मोबाइल एप, ग्राहक पोर्टल तथा अभिकर्ता पोर्टल पनि सञ्चालनमा रहने छैनन् ।
सेवामा हुने असुविधाप्रति कम्पनीले ग्राहकसँग क्षमायाचना गर्दै सेवा बन्दका कारण अन्तिम मिति परेका नवीकरण बीमाशुल्क साउन २० गते (बुधबार) भित्र भुक्तानी गरे कुनै पनि विलम्ब शुल्क नलाग्ने व्यवस्था गरिएको जनाएको छ ।
कम्पनीले नयाँ प्रणाली कार्यान्वयनपछि ग्राहकलाई अझ सहज, सरल, सुलभ तथा सुरक्षित जीवन बीमा सेवा उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया