काठमाडौं । इनड्राइभले महिलालाई ड्राइभिङ पेसामा अघि बढाउन सञ्चालन गरेको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सम्पन्न गरेको छ ।
तीन महिनाको तालिम पूरा गरेका १० जना महिलालाई काठमाडौंमा आयोजित कार्यक्रममा प्रमाणपत्र प्रदान गरिएको हो ।
तालिममा सहभागी महिलालाई सुरक्षित रूपमा दुईपाङ्ग्रे सवारी चलाउने सीप, ट्राफिक नियम, सडक सुरक्षा, लाइसेन्स लिने प्रक्रिया र आत्मरक्षासम्बन्धी प्रशिक्षण दिइएको थियो । उनीहरूलाई हेल्मेट र प्राथमिक उपचार सामग्रीसहितको सुरक्षा किट पनि वितरण गरिएको छ । आत्मरक्षा तालिम फाइटब्याक नेपालको सहकार्यमा सञ्चालन गरिएको थियो ।
इनड्राइभले यो कार्यक्रम अप्रिल २०२६ मा सुरु गरेको हो । कम्पनीका अनुसार यसको उद्देश्य अवसरबाट वञ्चित महिलालाई ड्राइभिङ पेसामार्फत रोजगारी र आम्दानीको अवसर उपलब्ध गराउनुका साथै यस क्षेत्रमा महिलाको सहभागिता बढाउनु हो ।
कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी सुनिलजंग शाहले ट्राफिक नियम पालना गर्दै सुरक्षित रूपमा सवारी चलाउन आग्रह गरे ।
समारोहमा इनड्राइभ नेपालकी ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्काले सहभागी महिलालाई प्रमाणपत्र, सुरक्षा किट र मायाको चिनो प्रदान गरिन् । कार्यक्रममा सहभागी महिलाको अनुभव समेटिएको भिडियो पनि प्रदर्शन गरिएको थियो ।
यस अवसरमा एक जनालाई विद्युतीय स्कुटर, तीन जनालाई स्मार्टफोन र छ जनालाई स्मार्टवाच प्रदान गरिएको कम्पनीले जनाएको छ । यी सामग्रीले उनीहरूको व्यावसायिक ड्राइभिङ यात्रा सुरु गर्न सहयोग पुग्ने विश्वास कम्पनीको छ ।
इनड्राइभले तालिम, लाइसेन्स, आत्मविश्वास र रोजगारीको अवसर उपलब्ध गराएर मोबिलिटी क्षेत्रमा महिलाको सहभागिता बढाउने लक्ष्य राखेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया