लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लोकपथ
56
Shares

काठमाडौं । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा निर्माणाधीन भवनको छत भत्किँदा कम्तीमा १४ जना बालबालिकाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनापछि भग्नावशेषमा थप बालबालिका फसेको आशङ्कामा उद्धार कार्य जारी छ । घटनालगत्तै शिक्षण केन्द्रका सञ्चालकसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

वरिष्ठ प्रहरी अधिकारी फैसल कामरानका अनुसार पुरानो भवनमा सञ्चालन भइरहेको शिक्षण केन्द्रको निर्माणाधीन दोस्रो तलाको छत कमजोर निर्माणका कारण भत्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घाइते बालबालिकाको विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए ।

दुर्घटनापछि एम्बुलेन्स, सुरक्षाकर्मी र उद्धार टोली तत्काल घटनास्थलमा पुगेका थिए । स्थानीय बासिन्दाले पनि बेलचा र खाली हातले भग्नावशेष हटाउँदै फसेका बालबालिकाको उद्धारमा सहयोग गरेका थिए ।

घटनापछि अस्पताल र शिक्षण केन्द्र आसपासको क्षेत्रमा शोकको वातावरण छाएको छ । मृतक बालबालिकाका शव परिवारलाई बुझाइएको छ भने अधिकांश पीडित स्थानीय बासिन्दा रहेकाले मङ्गलबार नै अन्त्येष्टिको तयारी गरिएको जनाइएको छ ।

स्थानीय बासिन्दाले असुरक्षित तथा जीर्ण भवनमा कक्षा सञ्चालन गरिएको आरोप लगाउँदै शिक्षण केन्द्रका सञ्चालकमाथि कडा कारबाहीको माग गरेका छन् । स्थानीय जफर इकबालले एउटै टोलका धेरै परिवारले आफ्ना सन्तान गुमाएकाले समवेदना व्यक्त गर्नसमेत कठिन अवस्था सिर्जना भएको बताए ।

पाकिस्तानमा कमजोर निर्माण गुणस्तर, सुरक्षा मापदण्डको बेवास्ता तथा जीर्ण भवनका कारण भवन भत्किने घटना पटक–पटक दोहोरिने गरेका छन् ।

घटनाप्रति पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शाहबाज सरिफले गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

साथै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस्ता दुर्घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था लागू गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?