काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज जलडमरूमध्य नजिकै अमेरिकी सेनाको एउटा अपाचे हेलिकप्टर खसालेको दाबी गर्दै त्यसको कडा जवाफ दिने चेतावनी दिएका छन् ।
ट्रम्पले मंगलबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा पोस्ट गर्दै उक्त दाबी गरेका हुन् । उनले लेखेका छन्, ‘होर्मुज जलडमरूमध्यमा गस्ती गरिरहेको हाम्रो अत्याधुनिक अपाचे हेलिकप्टरलाई गएराति इरानीहरूले खसालेको जानकारी मलाई प्राप्त भएको छ ।’
उनका अनुसार हेलिकप्टरमा सवार दुई पाइलटलाई उद्धार गरिएको छ र उनीहरू सुरक्षित छन् । उनले अमेरिकाले यस घटनाको उचित जवाफ दिनुपर्ने पनि बताएका छन् ।
तर अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) ले भने ट्रम्पको दाबीभन्दा फरक विवरण सार्वजनिक गरेको छ । सेन्टकमका अनुसार ओमानको तटीय क्षेत्रमा एउटा सैन्य विमान दुर्घटनाग्रस्त भएको थियो र त्यसका दुई जना चालक दलका सदस्यलाई करिब दुई घण्टाभित्र उद्धार गरिएको हो ।
सेन्टकमले विमान किन खस्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ । साथै, इरानको संलग्नता भएको भन्ने विषयमा हालसम्म कुनै औपचारिक पुष्टि नभएको स्पष्ट पारेको छ ।
यस घटनासँगै इजरायल–इरानबीचको तनाव, साथै दक्षिण लेबनानमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणका कारण मध्यपूर्वमा तनाव झनै चुलिएको अवस्थामा नयाँ विवाद बाहिर आएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया