हिमालयन रिइन्स्योरेन्स घोटाला प्रकरणमा ४० जनाविरुद्ध मुद्दा चलाउन सिफारिस, झण्डै ४ अर्ब दुरुपयोग !

लोकपथ
497
Shares

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्ससहितका पाँच बीमा कम्पनीको अर्बौं रुपैयाँको घोटाला प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुलभ अग्रवाल, दीपक भट्ट, शेखर गोल्छासहित ४० जनामाथि मुद्दा चलाउन सिफारिस गरेको छ ।

सीआईबीले हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छा, हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन अध्यक्ष तथा हिमालयन रिइन्स्योरेन्सका सेयरधनी सुलभ अग्रवाल, हिमालयन रिइन्स्योरेन्सका सेयरधनी दीपक भट्ट, हिमालयन रिइन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल, आशिष श्रेष्ठ, सुभाषबहादुर श्रेष्ठसहित ४० जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको हो ।

उनीहरूमाथि बिमा ऐन, २०७९ को दफा १४० को उपदफा १ को खण्ड (छ) बमोजिमको कसूर (आर्थिक अपचलन, हिनामिना र दुरुपयोग) मा सजाय मागदाबीसहित मुद्दा दायर गर्न सिफारिस गरिएको हो ।

सीआईबीले मुद्दा चलाउन सिफारिस गरेका अन्य व्यक्तिमा भृकुटी स्टक ब्रोकिङ कम्पनी लिमिटेडका सन्दीप चाचान अग्रवाल, शुभी अग्रवाल, ऋषिराज मोर र राजबहादुर शाह, हिमालयन रिइन्स्योरेन्स लिमिटेडका अमित मोर, शाहिल अग्रवाल, राजीव मोर, शुभेच्छा खरेल, सुभाषकुमार झुनझुनवाला, मनिष कुमार र दीपककुमार श्रेष्ठ, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका सिद्धान्त झुनझुनवाला, लतिका गोल्याण, सुनिता श्रेष्ठ, अनुप मालाकार, बद्री सिग्देल, प्रविना दाहाल, मृगेन्द्रनाथ रिमाल, सुजल मल्ल, दीपककुमार श्रेष्ठ, र सीताराम वाग्लेलाई मुद्धा चलाउन सिफारिस गरेको हो ।

यसैगरी हिमालयन सेक्युरिटिज बैंकर लिमिटेडका आकांक्षा गुप्ता, हिमालयन क्यापसर्व लिमिटेडका शिशिर गैह्रे, दीपककुमार श्रेष्ठ, सीताराम वाग्ले र रितेश प्रधान र हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेड र एचएलआई लार्ज क्याप फन्डका कपिलकुमार दाहाल (जो हिमालयग लाईफ इन्सुरेन्सका सीईओ पनि हुन्) राजनप्रसाद अधिकारी, विदुर पुरी, बिनु घिमिरे, नारायणकुमार अधिकारी, उत्सव प्रधानांग, सुरेश शमशेर जबरा, सुभाष पौडेल, सालनी संघाई र प्रतीक जोशीलाई मुद्धा चलाउन सिफारिस गरेको छ ।

के हो कसुर ?

नेपाल बिमा प्राधिकरण कुपण्डोल, ललितपुरको मिति २०८३–०१–०८ गते, च.न. ६२१५ को पत्रद्धारा हिमालयन रिइन्स्योरेन्स लि. ले विभिन्न मितिमा भृकुटी स्टक ब्रोकिंग प्रालिमार्फत् सेयर खरिद/बिक्री गरेकोमा सो ब्रोकिंग कम्पनीबाट २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ ३ पैसा) र नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले भृकुटी स्टक ब्रोकिंग प्रालिमार्फत सेयर खरिद बिक्री कारोबार गर्दा बीमकले प्राप्त गर्नु पर्ने रकम १६ करोड १७ लाख ५२ हजार ८७३ रुपैयाँ ८८ पैसा लिनु पर्नेमा सो रकमको असुलउपर गर्ने सम्बन्धमा बीमकबाट लामो समयसम्म कुनै पहलकदमी तथा कानुनी कारबाही नगरी संस्थालाई हानी नोक्सानी गरेको तथा बीमकको हितकमा काम नगरेको .पाइएकाले बिमा ऐन २०७९ को दफा १४० को उपदफा (१) को खण्ड (छ) बमोजिमको कसुर गरेको ।

सीआईबीको तथ्य र खुलासा

सीआईबीको अनुसन्धानले हिमालयन रिइन्स्योरेन्स लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन क्यापसर्व लिमिटेड, हिमालयन सेक्युरिटिज बैंकर लिमिटेड र एचएलआई लार्ज क्याव फन्डसहितका कम्पनीका पदाधिकारीहरूले नियामक निकायलाई समेत अटेर गरी अर्बौं रुपैयाँ सर्वसाधारण लगानीकर्ताको हितविपरीत व्यक्तिगत लाभका लागि प्रयोग गरेको पाइएको देखाएको छ । साथै नेपालको बिमा क्षेत्रमा ठूलो वित्तीय अनियमितता र संगठित आर्थिक अपराधको खुलासासमेत गरेको छ ।

नेपाल बिमा प्राधिकरणको आकस्मिक स्थलगत निरीक्षण र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा सीआईबीले गरेको अनुसन्धानबाट सो तथ्य खुलेको हो ।

अनुसन्धान प्रतिवेदनमा हिमालयन रिइन्स्योरेन्स र अन्य सम्बद्ध कम्पनीहरूले नेपाल बिमा प्राधिकरणले जारी गरेको ‘लगानी निर्देशन, २०८२’ को खुला उल्लंघन गरेको उल्लेख छ । निर्देशिकाअनुसार पुनर्बिमा कम्पनीले धितोपत्र बजारमा कुल लगानीको अधिकतम १५ प्रतिशत मात्र लगानी गर्न पाइन्छ । साथै कुनै एक कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशतभन्दा बढी सेयर किन्न पाइँदैन । तर, सीआईबीको प्रतिवेदनमा यी कम्पनीहरूले सो सीमा नाघेर लगानी गरेको र प्राधिकरणको पूर्वस्वीकृति समेत नलिएको उल्लेख गरिएको छ ।

अनुसन्धानमा भृकुटी स्टक ब्रोकिङ कम्पनी (ब्रोकर नं. ५५) मार्फत अर्बौं रुपैयाँको शंकास्पद कारोबार गरिएको पाइएको छ । हिमालयन रिइन्स्योरेन्सले मात्रै ब्रोकरबाट २ अर्ब ७३ करोड ३३ लाख १५ हजार रुपैयाँ लिन बाँकी छ । ठूलो रकम लिन बाँकी रहँदा–रहँदै पनि कम्पनीले उल्टै ब्रोकरलाई ‘एडभान्स’ भन्दै थप करोडौँ रुपैयाँ पठाएको सीआईबीको प्रतिवेदनमा उल्लेख छ ।

बीमा कम्पनीको रकम असुल गर्न कुनै कानुनी प्रक्रिया अगाडि नबढाई उल्टै रकम पठाउनुमा ‘बदनियत’ रहेको प्रतिवेदनमा उल्लेख छ । यसका साथै सीआईबीले सबै प्रक्रिया बिमा व्यवसायको आर्थिक दुरुपयोग गर्ने योजनाबद्ध षड्यन्त्रको रूपमा देखिएको विश्लेषण गरेको छ । सीआईबीले यी कम्पनीले निजी कार्यालयबाट कम्पनी सञ्चालन र भित्री कारोबार गर्ने गरेको तथ्यसमेत फेला परेको छ ।

‘प्रतिवादीहरू दीपक भट्ट र सुलभ अग्रवालले नेपाल रिइन्स्योरेन्स लगायतका कम्पनीहरूको सेयर मूल्यमा चलखेल गरी अनुचित लाभ हासिल गर्ने उद्देश्यले आपराधिक समूह निर्माण गरेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘उक्त समूहले गार्डियन माइक्रो लाइफ र एनएलजी इन्स्योरेन्स जस्ता कम्पनीहरूमा ‘इन्साइडर ट्रेडिङ’ गर्ने र धितोपत्रको मूल्य हेरफेर गर्न हिमालयन रिइन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, र हिमालयन लाइफ इन्स्योरेन्सका सहायक कम्पनीहरू (हिमालय क्यापसर्भ, हिमालयन सेक्युरिटिज, एचएलआई लार्ज क्याप फण्ड) समेतको रकम दुरुपयोग गरेका छन् ।’

सेयर खरिद–बिक्री तथा सेटलमेन्टका निर्णयहरू सम्बन्धित संस्थाको व्यावसायिक क्षमता र स्वतन्त्रताका आधारमा नभई, प्रतिवादीहरूको निजी कम्पनीहरू (सौर्य सिमेन्ट र जगदम्बा स्टिल) को कार्यालयबाटै सञ्चालन हुने गरेको सीआईबीको प्रतिवेदनमा दाबी गरिएको छ ।

यस प्रक्रियामा सम्बन्धित कम्पनीका सञ्चालक, समिति र कार्यकारी प्रमुखहरूको समेत संलग्नतामा संस्थाको लगानी नीति विपरीत भट्ट र अग्रवालको योजना र व्यक्तिगत स्वार्थ बमोजिम कारोबार गराइएको सीआईबीको निष्कर्ष छ ।

‘दीपक भट्ट र सुलभ अग्रवालसहितको समूहले नेपाल रिइन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ र एनएलजी इन्स्योरेन्स लगायतका कम्पनीको सेयर मूल्यलाई प्रभावित पारेर व्यक्तिगत लाभ हासिल गर्ने उद्देश्य राखेको पाइयो ।

आफ्नो पकडमा रहेका बिमा कम्पनी र एचएलआई लार्ज क्याप फण्ड सामूहिक लगानी कोषको रकम प्रयोग गरी ती कम्पनीहरूको सेयर खरिद गरी ‘इन्साइडर ट्रेडिङ’ गरेको पुष्टि हुन्छ,’ सीआईबीले अनुसन्धान प्रतिवेदनमा भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?