बजेटमा आएका कार्यक्रम कानुनी रूपमा लागू हुनुपर्छ : इप्पान

लोकपथ
49
Shares

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले बजेटमा ऊर्जा क्षेत्रका लागि समेटिएका अधिकांश कार्यक्रम सकारात्मक भए पनि प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य स्पष्ट रूपमा अघि सारेको उल्लेख गरे । सबै आयोजनाको पीपीए (पावर पर्चेज एग्रिमेन्ट) गर्ने, ‘वान डोर पोलिसी’ लागू गर्ने लगायतका विषय बजेटमा समावेश हुनु सकारात्मक रहेको उनको भनाइ थियो ।

उनले विगतका बजेटमा पनि ऊर्जा क्षेत्रसँग सम्बन्धित धेरै कार्यक्रम समेटिए पनि कानुनी तथा नीतिगत व्यवस्था अभावका कारण कार्यान्वयन हुन नसकेको स्मरण गराए । यसपटक भने कानुन संशोधन र नीतिगत सुधारमार्फत ती व्यवस्था प्रभावकारी रूपमा लागू हुनुपर्नेमा उनले जोड दिए ।

ऊर्जा विकास र पूर्वाधार निर्माणलाई तीव्रता दिन विशेष प्राथमिकता आवश्यक रहेको उल्लेख गर्दै कार्कीले ऊर्जा आयोजनालाई सहज बनाउन ‘वान डोर पोलिसी’ प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्ने बताए । अहिले एउटा आयोजना अगाडि बढाउन विभिन्न मन्त्रालय र निकाय धाउनुपर्ने अवस्थाले लगानीकर्तालाई कठिनाइ भइरहेको उनको भनाइ थियो ।

कार्कीले निजी क्षेत्रको मागअनुसार १० मेगावाटसम्मका आयोजनाको पीपीए खुला गर्ने विषय सरकारले सम्बोधन गरेको उल्लेख गर्दै अब ‘टेक अर पे’ मोडलमा पीपीए प्रक्रिया तत्काल सुरु गर्नुपर्ने बताए । कुनै पनि आयोजनाको पीपीए नगर्ने भनेर कतै उल्लेख नभएकाले सरकारले अब पीपीए प्रक्रिया अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

बजेटमा धेरै सकारात्मक विषय आएका छन् । तर बजेटमा उल्लेख हुँदैमा मात्रै पर्याप्त हुँदैन, ती कुरा कानुनी रूपमा कार्यान्वयन हुनुपर्छ,‘उनले भने ।

उनले ऊर्जा क्षेत्रको नीतिगत सुधारका लागि निजी क्षेत्र, सरोकारवाला निकाय र सरकारबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै बजेटमा समेटिएका कार्यक्रम कार्यान्वयनमा लैजान निजी क्षेत्रले पनि सक्रिय भूमिका खेल्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?