दक्षिण लेबनानमा इजरायली हवाई आक्रमण : बालबालिकासहित १२ जनाको मृत्यु

लोकपथ
28
Shares

काठमाडौं । दक्षिण लेबनानका विभिन्न क्षेत्रमा इजरायलले गरेको हवाई तथा ड्रोन आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली सेनाले विभिन्न शहर र सवारी साधनलाई लक्षित गरी यी घातक प्रहारहरू गरेको हो ।
आक्रमणको विवरणअनुसार क्लाया शहरमा एउटा गुडिरहेको सवारी साधनलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा एक पुरुष र उनका दुई सन्तानको मृत्यु भएको छ ।

त्यस्तै, रामादिये शहरमा भएको अर्को ड्रोन प्रहारमा एक जनाको ज्यान गएको छ । डुआयर शहरका आवासीय घरहरूमा भएको इजरायली हवाई आक्रमणमा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

एब्बा शहरमा भएको ड्रोन आक्रमणमा एक नागरिकको मृत्यु भएको छ भने एक सिरियाली नागरिकसहित दुई जना घाइते भएका छन् ।

यसैगरी, हबौश राजमार्गमा एउटा सवारी साधनमा गरिएको ड्रोन प्रहारमा एक नागरिकको मृत्यु भएको छ भने दुई लेबनानी सैनिक घाइते भएका छन् ।

इजरायली ड्रोनले नबातीह र कफर सिरमा गरेका छुट्टाछुट्टै आक्रमणमा पनि एक–एक जनाको मृत्यु भएको समाचारमा उल्लेख छ ।
यसैबीच, लेबनानी सशस्त्र समूह हिजबुल्लाहले दक्षिण लेबनानमा इजरायली सेना विरुद्ध रातभर श्रृङ्खलावद्ध आक्रमण गरेको जनाएको छ ।
देशको वर्तमान स्थितिबारे टिप्पणी गर्दै लेबनानका राष्ट्रपति जोसेफ आउनले एक विज्ञप्ति जारी गरी द्वन्द्व सुरु भएयता लेबनानमा ३ हजार भन्दा बढी मानिसले ज्यान गुमाएको र १० लाखभन्दा बढी विस्थापित भएको जानकारी दिए ।

लेबनानको स्वास्थ्य मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रकाअनुसार गत मार्च २ देखि जुन २ सम्मको अवधिमा इजरायली आक्रमणका कारण मृत्यु हुनेको कुल सङ्ख्या ३ हजार ४ सय ६८ पुगेको छ भने १० हजार ५ सय ७७ जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?