स्ट्रेट अफ होर्मुजमा अमेरिकी आक्रमण, इरानतर्फ जाँदै गरेको तेल ट्यांकर निशानामा

लोकपथ
7
Shares

काठमाडौं । अमेरिकाले स्ट्रेट अफ होर्मुज क्षेत्रमा इरानतर्फ जाँदै गरेको एक खाली तेल ट्यांकरमाथि आक्रमण गरेको छ ।

अमेरिकी सेनाले यो कारबाही आफ्नो नौसैनिक नाकाबन्दी अभियानअन्तर्गत गरिएको दाबी गरेको हो ।

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार बोत्सवानाको झण्डा बोकेको ‘एमरटी लेक्सी’ नामक जहाजले पटक–पटक दिइएको चेतावनी बेवास्ता गरेपछि अमेरिकी विमानले जहाजको इन्जिन कक्षमा क्षेप्यास्त्र प्रहार गरेको थियो ।

सेन्टकमले मंगलबार सार्वजनिक गरेको भिडियोमा ट्यांकरमाथि आक्रमण गरिएको दृश्यसमेत देखाइएको छ । घटनाबारे इरानले भने हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन ।

अमेरिकी सेनाले अन्तर्राष्ट्रिय जलक्षेत्र हुँदै इरानको खार्ग टापुतर्फ जाँदै गरेको उक्त जहाजमाथि नाकाबन्दीसम्बन्धी कारबाही गरिएको जनाएको छ ।

विज्ञप्तिअनुसार जहाजका चालक दलले २४ घण्टासम्म अमेरिकी सेनाबाट दिइएका निर्देशनहरूको पालना नगरेपछि आक्रमण गरिएको हो ।

सेन्टकमका अनुसार नाकाबन्दी लागू भएयता ६ वटा व्यावसायिक जहाजलाई सञ्चालन गर्न नसक्ने अवस्थामा पुर्‍याइएको छ भने थप १२२ वटा जहाजलाई आफ्नो गन्तव्य परिवर्तन गर्न बाध्य पारिएको छ ।

अमेरिकी सेनाले अप्रिल १३ देखि इरानी बन्दरगाहमा प्रवेश गर्ने वा त्यहाँबाट बाहिरिने सबै जहाजमाथि नाकाबन्दी लागू गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?