काठमाडौं । लेबनानमा इजरायलको बढ्दो सैन्य आक्रमणको विरोधमा इरानले संयुक्त राज्य अमेरिकासँग हुने भनिएको उच्चस्तरीय शान्ति वार्ता स्थगित गरेको छ ।
इरानको सरकारी तथा अर्धसरकारी सञ्चारमाध्यमका अनुसार मध्यपूर्वमा बढ्दो तनावका कारण वार्ता प्रक्रिया रोकिएको हो ।
इरानको तस्निम समाचार एजेन्सीका अनुसार इरानी वार्ता टोलीले मध्यस्थकर्तामार्फत हुँदै आएको संवाद र सन्देश आदान–प्रदान समेत रोक्ने निर्णय गरेको छ । यसले इरान–अमेरिका बीच चलिरहेको कूटनीतिक प्रयासलाई गम्भीर धक्का पुगेको बताइएको छ ।
इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले लेबनानमा इजरायली आक्रमण जारी रहे कडा जवाफी कदम चाल्न सकिने चेतावनी दिएका छन् । उनका अनुसार शान्ति प्रक्रिया मात्र नभई इजरायलविरुद्ध प्रतिकार गर्ने विकल्प पनि खुला राखिएको छ ।
इरानको विदेश मन्त्रालयले पनि इजरायलका सैन्य कारबाहीका लागि अमेरिका प्रत्यक्ष रूपमा जिम्मेवार रहेको आरोप लगाएको छ । साथै, लेबनानमा आक्रमण रोकिए मात्र कूटनीतिक वार्ता अघि बढ्न सक्ने अडान इरानले दोहोर्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया