काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु हतियार विकास नगर्ने प्रतिबद्धता जनाएका छन् । उनले इरानसँग हुन सक्ने सम्भावित सम्झौतामा परमाणु हतियार निर्माण रोक्नु आफ्नो प्रमुख प्राथमिकता रहेको बताएका छन् ।
फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले आफूलाई सबैभन्दा महत्वपूर्ण ग्यारेन्टी इरानले परमाणु हतियार विकास नगर्ने प्रतिबद्धता भएको उल्लेख गर्दै इरान त्यसमा सहमत भएको दाबी गरे ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ट्रम्प प्रशासनले इरानलाई थप कडा सर्तहरू समावेश गरिएको नयाँ शान्ति प्रस्ताव पठाएको छ । यद्यपि प्रस्तावका विस्तृत विषयवस्तु सार्वजनिक गरिएको छैन ।
ट्रम्पले सम्भावित सम्झौताअन्तर्गत इरानलाई परमाणु हतियार विकासबाट रोक्नुका साथै विश्व ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य पूर्ण रूपमा सञ्चालनमा आउनुपर्ने बताएका छन् ।
तर इरानले ट्रम्पको दाबीप्रति शंका व्यक्त गरेको छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार तेहरानले आफ्नो परमाणु कार्यक्रमबारे ठोस वार्ता अघि बढाउनुअघि विदेशमा रोक्का गरिएको १२ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति फुकुवा गर्नुपर्ने माग राखेको छ ।
इरानले ट्रम्पले यसअघि गरेको ‘संवर्धित युरेनियम नष्ट गरिएको’ भन्ने दाबीलाई पनि आधारहीन बताएको छ । साथै, कुनै पनि युद्धविराम वा शान्ति सम्झौतामा लेबनानलाई समेत समावेश गर्नुपर्ने आफ्नो अडान कायम रहेको जनाएको छ ।
यसबीच, अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले सिंगापुरमा आयोजित सांग्रिला डायलगमा आवश्यक परे अमेरिका पुनः सैन्य कारबाही गर्न सक्षम रहेको बताएका छन् ।
गत अप्रिलमा पाकिस्तानको मध्यस्थतामा तेहरान र वाशिङ्टनबीच अस्थायी युद्धविराम भएको थियो । त्यसयता ठूला आक्रमणहरू रोकिए पनि छिटपुट सशस्त्र घटनाहरू भने जारी रहेको बताइएको छ ।
विश्व तेल आपूर्तिको प्रमुख मार्ग मानिने होर्मुज जलडमरूमध्यमा युद्धपछिको अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ । यसले अमेरिका लगायत विश्व अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको विश्लेषकहरूको भनाइ छ ।
विश्लेषकहरूका अनुसार ऊर्जा आपूर्ति र आर्थिक स्थायित्वसँग जोडिएका कारण ट्रम्प प्रशासनमाथि इरानसँग कुनै न कुनै समझदारीमा पुग्नुपर्ने दबाब बढ्दै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया