काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेट आकारका हिसाबले ठूलो देखिए पनि कुल ग्राहस्थ उत्पादन (जीडीपी) को अनुपातमा भने सानो रहेको बताएका छन् ।
आइतबार अर्थ मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उनले चालु आर्थिक वर्षका लागि प्रक्षेपित जीडीपी करिव ७४ खर्ब ५८ अर्ब रुपैयाँ रहेको उल्लेख गर्दै बजेट त्यसको जम्मा २८.५ प्रतिशत मात्र रहेको बताए ।
उनले जीडीपीको अनुपातमा बजेटको आकार ३० प्रतिशतभन्दा माथि जाने विगतको प्रवृत्तिलाई तोडेर राज्यको कार्यान्वयन क्षमता अनुकूल हुने गरी बजेट ल्याइएको दाबी गरे ।
वाग्लेले जीडीपीको वास्तविक आकार आगामी दिनमा केही तलमाथि हुन सक्ने र त्यसबारे मध्यावधि समीक्षामा थप मूल्यांकन गरिने बताए । उनले बजेटको आकार निर्धारण गर्दा राज्यको स्रोत, क्षमता र कार्यान्वयन पक्षलाई विशेष ध्यान दिइएको बताए ।
वाग्लेले भने– ‘जीडीपी प्रक्षेपिक जीडीपीको सापेक्षतामा जम्मा २८.५ प्रतिशतको बजेट आएको छ । हाम्रो प्रक्षेपित जीडीपी ७४ खर्ब ५८ अर्ब छ । अब त्यो अलिकति तल पनि हुन सक्छ, त्यो पछिको कुरा भयो । मध्यावधि संशोधनमा हामी ती कुराहरू हेरौँला । तर आजका मितिमा यो चाहिँ ३० प्रतिशतभन्दा माथिको ट्रेन्डलाई हामीले भत्काएर अहिले त्यही पुरानो २५ देखि, राज्यको क्षमता अनुकूल हुने गरेर आकारलाई, त्यसैले बजेट ठुलो होइन, जीडीपीको सापेक्षतामा सानै बजेट आएको छ भन्ने कुरा म यहाँहरूलाई निवेदन गर्न चाहन्छु ।’
अर्थमन्त्रीका अनुसार सरकारले बजेटलाई २५–३० प्रतिशतको दायराभित्र राख्दै यथार्थपरक र कार्यान्वयनयोग्य बनाउने प्रयास गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया