सुनको भाउ तोलामै २० हजार ५ सय बढ्नुमा नयाँ बजेट कारण

अर्थमन्त्री डा. वाग्लेले सुनमा २ प्रतिशत विलासी कर हटाएर भन्सार दर दोब्बर बनाएका थिए

लोकपथ
476
Shares

काठमाडौं । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँ बढ्नुमा सरकारले शुक्रबार घोषणा गरेको बजेटलाई लिइएको छ । 

शुक्रबार (जेठ १५) सार्वजनिक गरिएको बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट २० प्रतिशत पु¥याएपछि त्यसलाई आइतबार समायोजन गर्दा मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले सुनको मूल्यवृद्धिलाई लिएर भने, ‘बजेटमा घोषित भन्सार दर भोलिपल्टबाटै लागू हुन्छ, सोअनुसार महासंघले मूल्य समायोजन गरेको हो ।’

उनले अन्तर्राष्ट्रिय बजारमा मूल्य सामान्य मात्रै बढे पनि भन्सार शुल्ककै कारण आज सुनको मूल्य २० हजार ५ सय रुपैयाँले बढेको बताए ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार घोषणा गरेको बजेटमार्फत सुनमा २ प्रतिशत विलासी कर हटाएर राहत दिएजस्तो गराई भन्सार दर दोब्बर बनाएका थिए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार एक सय रुपैयाँमा किनबेच भइरहेको छ । 

शुक्रबार पनि सुन तोलामा पाँच हजार ६ सय रुपैयाँले बढेको थियो । शुक्रबार सुन प्रतितोला दुई लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यस्तै, आज आइतबार चाँदी तोलामा पाँच हजार ३४५ रुपैयाँमा किनबेच भइरहेको छ । चाँदी शुक्रबार प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भएको थियो । आजको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३०५ रुपैयाँले बढी हो । 

सुन मात्रै नभई चाँदीमा पनि भन्सार दर १० प्रतिशत विन्दुले बढाएर २० प्रतिशत पु-याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?