काठमाडौं । इजरायलले दक्षिणी र पूर्वी लेबनानमा गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् ।
लेबनानको सरकारी समाचार एजेन्सीका अनुसार इजरायली सेनाले मंगलबार एक घण्टाको अन्तरालमै दक्षिणी लेबनानमा करिब ३३ पटक हवाई आक्रमण गरेको थियो । ती आक्रमणहरू विभिन्न स्थानमा केन्द्रीत भएका थिए, जसका कारण ठूलो मानवीय क्षति भएको बताइएको छ ।
पूर्वी लेबनानको बेका क्षेत्रमा भएको एक आक्रमणमा दुई बालिका र एक महिलासहित ११ जनाको मृत्यु भएको छ । सो घटनामा एक बालकसहित १५ जना घाइते भएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयले उद्धार तथा राहत कार्य जारी रहेको जनाएको छ ।
त्यस्तै दक्षिणी लेबनानको मारेकेहमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने खिरबेट सेलममा इजरायली ड्रोनले लक्षित गरेको सवारी साधनमा एक व्यक्तिको ज्यान गएको छ ।
टायर जिल्लाको सरिफामा भएको अर्को आक्रमणमा इस्लामिक रिसाला स्काउट एसोसिएसनसँग आबद्ध एक स्वास्थ्यकर्मी (प्यारामेडिक) को मृत्यु भएको छ भने दुई जना स्वास्थ्यकर्मी घाइते भएका छन् । कफर रेमेन क्षेत्रमा चिहान नजिकै भएको हवाई आक्रमणमा थप चार जनाको मृत्यु भएको विवरण पनि सार्वजनिक गरिएको छ ।
आक्रमणअघि इजरायली सेनाले नबातिया शहर तथा बेका क्षेत्रका केही स्थानका बासिन्दालाई क्षेत्र खाली गर्न चेतावनी दिएको थियो ।
स्थानीय बासिन्दा मोहम्मद कमरले आक्रमणमा आफ्ना आमा, बुबा र दिदीको मृत्यु भएको र घर पूर्ण रूपमा ध्वस्त भएको बताएका छन् ।
यसैबीच, सशस्त्र समूह हेजबुल्लाहले दक्षिणी क्षेत्रमा इजरायली सेनाको अघि बढ्ने प्रयासको प्रतिकार गर्दै रकेट तथा तोप प्रहार गरेको दाबी गरेको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार गत मार्च २ यता जारी तनावका क्रममा इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ३,२१३ पुगेको छ भने ९,७३७ जना घाइते भएका छन् ।
इजरायल र लेबनानबीच गत अप्रिलमा युद्धविरामको सहमति भए पनि सीमा क्षेत्रमा आक्रमण र तनाव भने निरन्तर जारी रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया