काठमाडौं । अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर अप्रिल २०२६ मा घटेर ४.२ प्रतिशतमा पुगेको छ । यसअघि मार्च महिनामा यो दर ४.६ प्रतिशत रहेको थियो । सरकारी तथ्यांकअनुसार मुद्रास्फीतिमा केही कमी आए पनि आवास र यातायात क्षेत्र अझै मूल्यवृद्धिका मुख्य कारण बनेका छन् ।
अस्ट्रेलियाको तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको विवरणअनुसार उपभोक्ता मूल्य सूचकाङ्कअन्तर्गत सबैभन्दा ठूलो हिस्सा ओगटेको आवास क्षेत्रको लागत एक वर्षमा ६।३ प्रतिशतले बढेको छ । बिजुलीको मूल्यवृद्धि, नयाँ घर निर्माण खर्च तथा भाडादर बढेका कारण आवास खर्चमा उल्लेख्य वृद्धि भएको जनाइएको छ ।
यातायात क्षेत्रको मूल्य पनि एक वर्षमा ६.६ प्रतिशतले बढेको छ । यद्यपि मार्च महिनामा यो वृद्धि ८.९ प्रतिशत रहेको थियो । तथ्यांक विभागका अनुसार उपभोक्ता मूल्य सूचकाङ्कका ११ समूहहरूमध्ये सात समूहमा मूल्यवृद्धिको गति अघिल्लो महिनाको तुलनामा घटेको छ, जसमा यातायात क्षेत्रको गिरावट सबैभन्दा धेरै देखिएको छ ।
मूलभूत मुद्रास्फीति, जसलाई अस्थिर मूल्यहरू हटाएर मापन गरिन्छ, अप्रिलसम्मको १२ महिनामा ३.४ प्रतिशत पुगेको छ । मार्चमा यो ३.३ प्रतिशत थियो । यो सूचकलाई अस्ट्रेलियाको केन्द्रीय बैंकले ब्याजदर निर्धारण गर्दा महत्वपूर्ण आधारका रूपमा प्रयोग गर्ने गर्दछ ।
इन्धनको मूल्यमा पनि उतारचढाव देखिएको छ । मार्चदेखि अप्रिलसम्म पेट्रोलको मूल्य ७ प्रतिशतले घटेको छ । यसअघि मार्चमा पेट्रोलको मूल्य ३२.८ प्रतिशतले बढेको थियो। सरकारले अस्थायी रूपमा इन्धन कर आधा घटाएका कारण मूल्यमा केही राहत आएको बताइएको छ । तर, मध्यपूर्व तनाव सुरु हुनुअघिको अवस्थासँग तुलना गर्दा इन्धन मूल्य अझै २३.५ प्रतिशतले उच्च रहेको छ ।
तथ्यांक विभागकी मूल्य तथ्यांक प्रमुखले डिजेलको मूल्य भने अप्रिलमा उल्लेख्य रूपमा बढेको जानकारी दिएकी छन् । तेलको मूल्यवृद्धिको असर ढुवानी तथा मालसामान ओसारपसारमा आधारित वस्तु तथा सेवाहरूमा पनि परेको देखिएको छ। यसका कारण हुलाक तथा पार्सल सेवा शुल्क एक वर्षमा १२.४ प्रतिशतले बढेको छ भने नयाँ घर निर्माण सामग्रीको लागत ४.७ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी बिजुलीको मूल्य एक वर्षको अवधिमा २२।५ प्रतिशतले बढेको छ । सरकारी सहुलियत तथा अनुदान समाप्त भएपछि विद्युत् शुल्कमा तीव्र वृद्धि भएको जनाइएको छ ।
विश्लेषकहरूका अनुसार मुद्रास्फीतिमा सामान्य कमी देखिए पनि आवास, ऊर्जा र यातायात क्षेत्रमा मूल्य अझै उच्च रहेकाले उपभोक्तामाथि आर्थिक दबाब कायम रहेको छ। यसले आगामी दिनमा अस्ट्रेलियाको मौद्रिक नीति तथा ब्याजदर निर्णयमा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया