आईपीओ ल्याउन लागेको अग्नि सिमेन्टको वित्तीय अवस्था कस्तो छ ?

लोकपथ
42
Shares

काठमाडौं । प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत सर्वसाधारणको लगानी उठाउने तयारीमा छ अग्नि सिमेन्ट इन्डष्ट्रिज ।

सन् २००७ मा स्थापना भएको यो अग्नि सिमेन्ट सन् २०२२ देखि पब्लिक कम्पनीको रुपमा छ । अब छिट्टै सर्वासाधरणहरुका लागि आईपीओ निकाल्ने तरखरमा छ यो कम्पनी । पछिल्लो तीन वर्षदेखि अग्नि सिमेन्टलाई सर्वसाधारणको लगानी उठाउनका लागि आफ्नो वित्तीय अवस्थालाई बलियो देखाउने चुनौती छ ।

भर्खरै कम्पनीको वित्तीय विवरण सार्वजनिक भएको छ । जहाँ कम्पनीले सन् २०२४ को तुलनामा सन् २०२५ मा व्यापार केही बढाएको देखिन्छ । कम्पनीले गत वर्ष ५८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । पछिल्ला दुई वर्षमा कम्पनीको व्यापारमा केही सुधार आएजस्तो देखिएपनि वास्तविक सुधार देखिएको छ्रैन् ।

सन् २०२३ मै ६७ करोड रुपैयाँको व्यापार गरेको अग्निले सन् २०२४ मा ३९ करोड बढीको व्यापार गरेको थियो । र सन् २०२५ मा केही सुधार भएर ५ करोडमा पुगेको छ । झन् चालु आवको ८ महिनाको अवधिमा कम्पनीले ११ करोड ९० लाख रुपैयाँको मात्रै कारोबार गरेको छ ।

अब कुरा गरौँ कम्पनीले आर्जन गरेको नाफाको । सन् २०२४ मा ४ करोड ९० लाख नाफा आर्जन गरेको अग्नीले गत वर्ष सन् २०२५ मा २ करोड नाफा कमाएको छ । गत वर्ष कम्पनीले कारोबार बढाएपनि नाफा भने बढाउन सकेन । व्यापार बढ्दा पनि नाफा घट्नुले कम्पनीको लागत व्यवस्थापन कमजोर रहेको देखाउँछ ।

वित्तिय सूचांकहरु केलाउँदै जाने हो भने कम्पनीको कुल नगद सञ्चय १ करोड ८० लाख रुपैयाँ रहेको छ । जुन सन् २०२४ मा २ करोड १० लाख रुपैयाँ थियो । यसरी नगद सञ्चय घट्दै जानुले कम्पनीको दैनिक सञ्चालन क्षमता र आकस्मिक खर्च धान्ने सामथ्र्य कमजोर हुँदै गएको देखिन्छ ।

यसका साथै सन् २०२५ मा कम्पनीको ऋण पुँजीभन्दा २.३० गुणा बढी रहेको देखिन्छ । अर्थात् प्रत्येक १ रुपैयाँ पुँजी बराबर २ रुपैयाँ ३० पैसा ऋण छ ।

कम्पनीको नाफा, नगद प्रवाह, ऋण संरचना र कच्चा पदार्थमा निर्भरताले कम्पनीको दीर्घकालीन जोखिम अझै रहेको देखाउँछ ।

कम्पनीले अग्नि, ओरियन्ट र त्रिवेणी ब्रान्डमार्फत पीपीसी सिमेन्ट र अल्फा ब्रान्डमार्फत ओपीसी सिमेन्टहरु बजारमा बिक्री वितरण गर्दै आएको छ । देशभर ३१ जिल्लामा यसको बजार विस्तार रहेको छ ।

कम्पनीको नेतृत्व (अध्यक्ष) कृष्णप्रसाद पोखरेलले गर्दै आएका छन् । दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कम्पनीले कुल १ अर्ब ५ करोड रुपैयाँ बराबरको रेटिङ गराएको छ । यसमध्ये दीर्घकालीन कर्जाका लागि ५४ करोड ५८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५० करोड ४१ लाख रुपैयाँ बराबरको मूल्यांकन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?