बौद्ध महोत्सव २०८३ जेठ २३ गते आयोजना हुने

लोकपथ
35
Shares

काठमाडौं । धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘बौद्ध महोत्सव २०८३ — हाम्रो संस्कृति, हाम्रो उत्सव’ आयोजना हुने भएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. ६, बौद्ध क्षेत्रमा आयोजना हुने यस महोत्सवले बौद्ध क्षेत्रको मौलिक पहिचान, स्थानीय कला, संस्कृति, व्यवसाय, तथा युवा सहभागितालाई एउटै मञ्चमा प्रस्तुत गर्ने लक्ष्य लिएको छ । महोत्सव जेठ २३ गते बौद्ध माध्यमिक विद्यालय, फूलबारी क्षेत्र परिसरमा आयोजना गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा स्थानीय समुदाय, युवा, व्यवसायी, कलाकार, पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला तथा सांस्कृतिक प्रेमीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। महोत्सवले स्थानीय कला–संस्कृति, हस्तकला, उत्पादन तथा विविध सांगीतिक प्रस्तुति मार्फत सांस्कृतिक एकता र सामाजिक समन्वयलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ ।

महोत्सवमा नृत्य, लाइभ ब्याण्ड, परम्परागत बाजा, स्थानीय कला–हस्तकला प्रदर्शनी, फूड स्टल तथा विभिन्न सांस्कृतिक प्रस्तुति रहनेछ ।

कार्यक्रममा The Axe, Hercules Basnet, The Render, The Pasa Rockers, Phurba & The Band लगायतका कलाकार तथा स्थानीय सांस्कृतिक समूहहरूको प्रस्तुति रहने जानकारी दिइएको छ ।

वडा अध्यक्ष भुवन लामाले बौद्ध महोत्सव केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई बौद्ध क्षेत्रको संस्कृति, पर्यटन, स्थानीय व्यवसाय र समुदायलाई जोड्ने साझा अभियान भएको बताए । उनका अनुसार बौद्ध क्षेत्र धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण भएकाले यसको पहिचान संरक्षण र प्रवर्द्धन महोत्सवको प्रमुख उद्देश्य रहेको बताइएको छ ।

महोत्सवलाई अझ आकर्षक बनाउन विभिन्न स्थानमा स्टल, पार्किङ व्यवस्था, ट्राफिक व्यवस्थापन तथा सुरक्षा संयोजनलाई विशेष ध्यान दिइएको छ । Utpala Café क्षेत्र, Siddhartha Hall क्षेत्र तथा बौद्ध पिपलबोट आसपासका स्थानहरूमा समेत व्यवस्थापन मिलाइने आयोजकले जनाएको छ ।

देश–विदेशबाट आउने पर्यटकलाई समेत लक्षित गर्दै विशेष स्वागत तथा सांस्कृतिक अनुभव प्रदान गर्ने तयारी गरिएको छ। यस महोत्सवमार्फत नेपाली संस्कृति, बौद्ध परम्परा, स्थानीय बाजा–गाजा तथा सामुदायिक उत्सवलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अपेक्षा गरिएको छ ।

आयोजक समितिले सम्पूर्ण स्थानीयवासी, युवा, बालबालिका, व्यवसायी तथा संस्कृति प्रेमीहरूलाई महोत्सवमा सहभागी भई ‘हाम्रो बौद्ध, हाम्रो संस्कृति, हाम्रो उत्सव’ सफल बनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?