इरानसँगको सम्झौतामा हतार नगर्न ट्रम्पको निर्देशन, भने– ‘समय हाम्रो पक्षमा छ’

लोकपथ
14
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको सम्झौता प्रक्रियामा हतार नगर्न आफ्ना वार्ताकारहरूलाई निर्देशन दिएका छन् ।

समय आफ्नै पक्षमा रहेको उल्लेख गर्दै ट्रम्पले वार्तालाई निष्कर्षमा पुर्‍याउन हतारिनु आवश्यक नरहेको बताएका हुन् ।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत धारणा सार्वजनिक गर्दै उनले सम्झौता सम्पन्न नभएसम्म, त्यसको प्रमाणीकरण र अन्तिम हस्ताक्षर नहुँदासम्म इरानमाथिको नाकाबन्दी पूर्ण रूपमा प्रभावकारी रहने बताएका छन् ।

ट्रम्पले सम्झौताका लागि दुवै पक्षले पर्याप्त समय लिएर सही निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएका छन् । साथै, उनले इरानलाई कुनै पनि अवस्थामा परमाणु हतियार विकास गर्न वा प्राप्त गर्न नदिने आफ्नो अडान पुनः दोहोर्‍याएका छन् ।

उनले हाल जारी वार्ता प्रक्रिया व्यवस्थित र रचनात्मक ढंगले अघि बढिरहेको दाबी पनि गरेका छन् ।

यसैबीच, इजरायली सरकारी स्रोतलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमहरूले जनाएअनुसार ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई इरानको परमाणु कार्यक्रम पूर्ण रूपमा बन्द नभएसम्म र आफ्नो क्षेत्रबाट सम्पूर्ण संवर्द्धित युरेनियम नहटाएसम्म कुनै पनि अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने आश्वासन दिएका छन् ।

अर्कोतर्फ, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले इरान र अमेरिकाबीच युद्ध अन्त्यका लागि समझदारी पत्रलाई अन्तिम रूप दिन प्रयास भइरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?