निर्जीवन बीमा कम्पनीको व्यापार : शिखरलाई उछिन्दै हिमालयन एभरेष्ट अगाडी

लोकपथ
0
Shares
निर्जीवन बीमा कम्पनीको सांकेतिक एआई तस्बिर

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको झन्डै १५ प्रतिशतले व्यवसाय वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को वैशाख मसान्तसम्म निर्जीवन बीमा कम्पनीको व्यवसाय १४.८१ प्रतिशतले बढेको हो ।

सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले १० महिनामा ४० अर्ब २९ करोड ५७ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका हुन् । गत आर्थिक वर्षको १० महिनामा भने ३५ अर्ब ९ करोड ८० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । जुन गत आर्थिक वर्षको तुलनामा १४.८१ प्रतिशतले बढी हो ।

बीमा कम्पनीहरुको व्यापारमा हिमालयन एभरेष्टले शिखर इन्स्योरेन्सलाई पछाडी पारेको छ । शिखर इन्स्योरेन्सले सर्वाधिक कुल बीमा शुल्क आर्जन गरेको छ तर, कुल शूल्क आर्जनको वृद्धिदरका आधारमा हिमालयन एभरेष्ट र एनएलजी इन्स्योरेन्स अगाडी छन् ।

वैशाख मसान्तसम्ममा शिखर इन्स्योरेन्सले सर्वाधिक पाँच अर्ब १९ करोड २२ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ । कम्पनीको व्यवसाय गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.९० प्रतिशतले वृद्धि भएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो व्यवसाय ४२.०५ प्रतिशतले बढाएर ४ अर्ब ३७ करोड रुपैयाँ पुर्‍याएको छ । एनएलजी इन्स्योरेन्सले आफ्नो व्यवसाय ४२.०४ प्रतिशतले बढाएर ३ अर्ब ४४ करोड पु्र्‍याएको छ ।

यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले व्यवसाय ५.३७ प्रतिशतले बढाएर ४ अर्ब २५ करोड रुपैयाँ पुर्‍याएको छ ।

त्यसैगरी आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सले वैशाखसम्म ३ अर्ब ५१ करोडको व्यवसाय गर्दा, सिद्धार्थ प्रिमियरले
३ अर्ब ४९ करोडको व्यवसाय गरेको छ । नेको इन्स्योरेन्सले ३ अर्ब एक करोड, द ओरियन्टलले २ अर्ब ५८ करोड र युनाइटेड अजोडले २ अर्ब ४७ करोड रुपैयाँको व्यवसाय गरेका छन् ।

यता सानिमा जिआईसीले २ अर्ब ३६ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब ८१ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ४९ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १८ करोड र नेशनल इन्स्योरेन्सले १ अर्ब ६ करोड रुपैयाँ कुल बीमा शुल्क पुर्‍याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?