काठमाडौं । बैंकहरुमा पैसा राख्दा पनि निक्षेपकर्ताहरु घाटामा पर्ने अवस्थामा आइपुगेका छन् । बैंकहरुले दिने निक्षेपको ब्याजदरभन्दा मुद्रास्फिती बढी भएपछि निक्षेपकर्ताहरुलाई घाटैघाटा हुने अवस्था बनेको हो । मुद्रास्फिती अर्थात् महँगीदरभन्दा बैंकको निक्षेप ब्याजदर तल झरेपछि बचतकर्ताहरू प्रत्यक्ष घाटामा परेका हुन् ।
बैंकमा पैसा राख्दा सुरक्षित मात्र होइन, केही आम्दानी पनि हुन्छ भन्ने आमधारणा अहिले उल्टिएको छ । अहिलेको अवस्था यस्तो बनेको छ कि बैंकमा रकम थन्क्याउनेहरू बिस्तारै आफ्नो बचतको वास्तविक मूल्य गुमाउँदै गएका छन् ।
अहिले वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर हर्ने हो भने ३.४० प्रतिशतमा झरेको छ । यता नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्ने हो भने महँगीदर ४.४७ प्रतिशतमा पुगिसकेको छ । यसको मतलब के हो भन्दा बैंकमा पैसा राख्ने निक्षेपकर्ताले वार्षिक रूपमा १.०७ प्रतिशत वास्तविक घाटा बेहोर्नुपर्ने अवस्था बनेको छ ।
यो २०८२ चैत मसान्तसम्मको औसत व्याजदरको हिसाब हो । वैशाख र जेठमा ब्याजदर अझै तल खस्किएको छ भने व्याजदर र महँगीदरबिचको फरक झन ठुलो बन्ने देखिन्छ । त्यति मात्र होइन व्याजदर निरन्तर घट्दै जाँदा मुद्दती निक्षेपको हिस्सा पनि तीव्र रूपमा घटेको छ । अघिल्लो वर्ष वाणिज्य बैंकहरुको कुल निक्षेपमा ५१ प्रतिशत रहेको थियो । जुन अहिले ३८.९ प्रतिशतमा झरेको छ । यसले बैंकहरुको मेरुदण्ड पनि कमजोर हुँदै गएको संकेत गर्छ । किनभने बैंकहरुले बिलियो पक्ष या भनौँ बैंकहरुलाई चलाउने नै मुद्दति निक्षेपको ठुलो हिस्सा हो, जुन पछिल्लो समय घट्दै गइरहेको छ ।

कम व्याजदरका कारण मुद्दती निक्षेपप्रति सर्वसाधारणको आकर्षण घट्दो छ । धेरै बचतकर्ताले समयअघि नै मुद्दती निक्षेप तोडेर रकम बचत तथा चालु खातामा सार्न थालेका छन् । यसरी ब्याजदर घट्दै गर्दा यसको सीधा असर बचतकर्ताको क्रयशक्तिमा परेको छ । बैंक खातामा रकम बढेजस्तो देखिए पनि बजारमा वस्तु तथा सेवाको मूल्य अझ तीव्र गतिमा बढेकाले बचतको वास्तविक मूल्य घटिरहेको छ ।
अहिले नै बैंकहरु समस्यामा परेको भन्न नमिल्ने तर, बचकर्ताको आकर्षण भने घटेको एक वणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) स्वीकार गर्छन् । अझै पुरानै लयमा फर्काउन सकिने अवस्था रहेको भए तापनि अप्ठ्यारोमा परिरहेको उनको भनाई छ ।
‘मुद्दति निक्षेपको रेसियो धेरै घटेको छ । मैले लुकाएर लुकिने होइन, सबैले देखिरहेका छन् । हाम्रा लागि अहिले चुनैती थपिएको छ’, उनले भने, ‘यो भन्दैमा नराम्रो अवस्थामा पुगेका होइनौँ । केही समय लाग्छ, तर अझै लयमा फर्किने अवस्था भने बाँकी नै रहेको छ ।
अहिलेको अवस्थामा लगानीका लागि सुरक्षित वातावरण नहुँदा निजी क्षेत्र निष्क्रिय बनेको र त्यसको असर बैंकिङ प्रणालीदेखि समग्र अर्थतन्त्रसम्म देखिएको विज्ञहरुले बताएका छन् । बैंकिङ प्रणालीमा रहेको अत्यधिक तरलता व्यवस्थापन र लगानीको वातावरण बनाएसम्म ब्याजदर नबढ्ने बैंकहरुको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया