इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गर्ने ट्रम्पको घोषणा

लोकपथ
112
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि मंगलबारका लागि तय गरिएको सैन्य आक्रमण तत्कालका लागि स्थगित गर्न पेन्टागनलाई निर्देशन दिएका छन् ।

उनले खाडी क्षेत्रमा रहेका मित्र राष्ट्रहरूको पहलमा इरानसँग सम्भावित शान्ति सम्झौताका लागि कूटनीतिक प्रयास अघि बढेकाले यो निर्णय गरिएको बताएका छन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत जानकारी दिँदै भनेका छन्, ‘भोलिका लागि तय गरिएको इरानमाथिको आक्रमण अहिलेका लागि स्थगित गरिएको छ ।’

यद्यपि, यदि स्वीकार्य सम्झौता हुन नसकेको खण्डमा जुनसुकै समयमा पनि ठूलो स्तरको सैन्य कारबाहीका लागि तयारी अवस्थामा रहन पेन्टागनलाई निर्देशन दिइएको उनले स्पष्ट पारेका छन् ।

उनका अनुसार इरानसँग हाल गम्भीर वार्ता जारी छ र खाडी मुलुकका नेताहरूको सुझाव अनुसार अमेरिका, मध्यपूर्व तथा अन्य देशहरूलाई समेत स्वीकार्य हुने किसिमको सम्झौता छिट्टै हुन सक्ने अपेक्षा गरिएको छ ।

सम्भावित सम्झौताको मुख्य विषय इरानले आणविक हतियार विकास वा प्राप्त नगर्ने विषय रहेको ट्रम्पले उल्लेख गरेका छन् ।

खाडी क्षेत्रका कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) का नेताहरूको विशेष अनुरोधपछि नै प्रस्तावित सैन्य आक्रमण रोकिएको पनि उनले दाबी गरेका छन् ।

ट्रम्पको यो निर्णयसँगै मध्यपूर्वमा तनाव कम हुने वा फेरि चुलिने भन्ने विषय अब जारी वार्ताको परिणाममा निर्भर रहने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?