भारतको मध्य प्रदेशमा गुडिरहेको रेलमा आगलागी, सबै यात्रु सुरक्षित

लोकपथ
42
Shares
जनकपुरधाम उपमहानगरपालिका–१७ कनरपट्टी नजिकैबाट यात्रुहरुलाई लिएर जनकपुरधामतर्फ जाँदै गरेको भङ्गहा–जनकपुर–जयनगरसम्म चल्ने नेपालको एकमात्र रेल । तस्बिरः अमरेन्द्रकुमार यादव/रासस

काठमाडौं । भारतको मध्य प्रदेशस्थित रतलाम जिल्लामा गुडिरहेको रेलमा आगलागी भएको छ ।

दिल्लीतर्फ जाँदै गरेको राजधानी एक्सप्रेसको एउटा डिब्बामा अचानक आगो लागेको अधिकारीहरूले जनाएका छन् ।

उक्त घटनामा कुनैपनि मानवीय क्षति भने भएको छैन । मध्य प्रदेशको राजधानी भोपालबाट करिब २९५ किलोमिटर पश्चिममा पर्ने रतलाम जिल्लामा उक्त दुर्घटना भएको हो ।

रेलको एउटा डिब्बाबाट आगोको लप्का निस्किएको देखेपछि गार्डले तुरुन्तै लोको पाइलटलाई खबर गरेका थिए ।

त्यसलगत्तै रेल रोकेर आपतकालीन उद्धार प्रक्रिया सुुरु गरिएको थियो । रेल्वे अधिकारीका अनुसार आगलागी भएको डिब्बामा ६८ जना यात्रु सवार थिए, जसलाई १५ मिनेटभित्रै सुरक्षित रूपमा बाहिर निकालिएको थियो ।

घटनामा कोही पनि यात्रु वा रेल्वे कर्मचारी घाइते नभएको रेल्वे प्रशासनले पुष्टि गरेको छ । आगलागी सुरु भएलगत्तै रेल्वे अधिकारीहरूले ओभरहेड विद्युतीय आपूर्ति बन्द गरी आगो निभाउने कार्य सुरु गरेका थिए ।

आगो प्रभावित डिब्बासँगै जोडिएको अर्को लगेज तथा गार्ड भ्यानमा पनि फैलिएको थियो । समयमै सावधानी अपनाइएका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको अधिकारीहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?