काठमाडौं । इरानसँग सम्बन्धित तनाव बढ्दै गएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सोमबार फेरि उकालो लागेको छ । अमेरिका र इजरायलसँग जोडिएको सम्भावित सैन्य द्वन्द्व अन्त्य गर्ने प्रयास सफल नभएपछि बजारमा चिन्ता बढेको हो ।
संयुक्त अरब इमिरेट्स (यूएई) को बाराकाह आणविक ऊर्जा केन्द्रमा आक्रमण भएको खबरपछि तेल बजार थप अस्थिर बनेको छ । साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सैन्य विकल्पबारे छलफल गर्न सक्ने समाचारले पनि मूल्य बढाएको छ ।
पछिल्लो तथ्यांकअनुसार ब्रेन्ट क्रुड तेलको मूल्य प्रति ब्यारेल १.४४ डलर बढेर ११०.७० डलर पुगेको छ । यो मे ५ यताकै उच्च स्तर हो । त्यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) तेलको मूल्य १.८४ डलर बढेर प्रति ब्यारेल १०७.२६ डलर पुगेको छ, जुन मे ४ पछिकै उच्च मूल्य हो ।
गत साता पनि यी दुवै तेलको मूल्य ७ प्रतिशतभन्दा बढीले बढेका थिए । विशेषगरी स्ट्रेट अफ होर्मुज क्षेत्र आसपास जहाजमाथि आक्रमण र नियन्त्रणका घटनाले विश्व बजारमा आपूर्ति प्रभावित हुने चिन्ता बढाएको छ ।
यसबीच अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको वार्ताबाट पनि द्वन्द्व समाधानतर्फ कुनै ठोस संकेत नआएको बताइएको छ । चीन विश्वकै ठूलो तेल आयातकर्ता देश हो ।
यूएई र साउदी अरबमा हालै भएका ड्रोन आक्रमणहरूले मध्यपूर्वमा तनाव झन् बढाएको छ । यूएईले बाराकाह केन्द्रमा भएको आक्रमणको स्रोत पत्ता लगाउने अनुसन्धान भइरहेको जनाएको छ। साथै यस्तो आक्रमणको जवाफ दिने अधिकार आफूहरूसँग रहेको स्पष्ट पारेको छ ।
उता साउदी अरबले पनि इराकी हवाई क्षेत्रबाट आएका तीन ड्रोन खसालेको जनाएको छ। आफ्नो सुरक्षा र सार्वभौमसत्तामाथि खतरा पैदा गर्ने जुनसुकै गतिविधिको प्रतिकार गरिने साउदीको चेतावनी छ ।
यसैबीच अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार राष्ट्रपति ट्रम्पले मंगलबार राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग इरानबारे सम्भावित सैन्य विकल्पमा छलफल गर्ने तयारी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया