ऊर्जा क्षेत्रले नेपाललाई समृद्धितर्फ लैजान सक्छ : मोहन डाँगी

लोकपथ
0
Shares

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का  वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले ऊर्जा क्षेत्र नेपाललाई समृद्धिको मार्गमा लैजान सक्ने एकमात्र बलियो आधार भएको बताएका छन् । 

राजधानीमा भएको एक कार्यक्रममा उनले नेपाललाई समृद्धिको मार्गमा लैजान सक्ने एक मात्रै भरपर्दो क्षेत्र ऊर्जा भएको बताएका छन् । उनकाअनुसार नेपालले जलस्रोत, घाम र हावाबाट ठुलो मात्रामा हरित ऊर्जा उत्पादन गर्न सक्ने सम्भावना रहेको छ । 

निजी क्षेत्रले त्यसको क्षमता प्रमाणित गरिसकेको छ । २०५५ सालमा २५४ मेगावाट उत्पादन भएको अवस्थामा आज देश ४३०० मेगावाट क्षमतामा पुगेको छ । त्यसमध्ये करिब ३५०० मेगावाट निजी क्षेत्रले उत्पादन गरिसकेको छ ।

डाँगीले नेपाल सरकारले विद्युत् व्यापार गर्न नसक्ने, प्रसारण लाइन बनाउन नसक्ने भन्ने आशंका आवश्यक नभएको उल्लेख गर्दै ऊर्जा क्षेत्रप्रति विश्वास गर्नुपर्ने बताए । उनकाअनुसार इप्पानले ऊर्जा क्षेत्रका समस्या समाधानका लागि सरकारसँग निरन्तर संवाद गरिरहेको छ । अर्थमन्त्री, ऊर्जामन्त्री तथा प्रधानमन्त्रीसँग पटक–पटक छलफल भइरहेको छ ।

 वरिष्ठ उपाध्यक्ष डाँगीले भने, ‘यही ऊर्जा क्षेत्र त एकमात्र क्षेत्र हो, यसले यो देशलाई समृद्धिको मार्गमा लान सक्छ । त्यो हामीले प्रमाणित गरेका छौँ । २०५५ सालको २५४ मेगावाटलाई आज हामी ४३०० मेगावाट पुर्‍याएका छौँ  । हामीले ३५०० मेगावाट चाहिँ उत्पादन गरिसकेका छौँ । अब नेपाल सरकारले विद्युत् व्यापार गर्न सक्दैन, प्रसारण लाइन बनाउन सक्दैन भनेर यो क्षेत्रलाई नपत्याउनुपर्ने कारण के छ र ? भनेपछि त्यो त्यसमा हामी लबिङ गर्नेछौँ । अहिले हामीसँग बारम्बार अर्थमन्त्रीसँग कुरा भएको छ, ऊर्जामन्त्रीसँग कुरा भएको छ । प्रधानमन्त्रीकहाँ हामी चाहिँ गइराखेका छौँ, भनिराखेका छौँ । भनेपछि अघि अलिकति फोटाको पनि कुरा आयो । यो जलस्रोतले, ऊर्जा क्षेत्रले देशलाई समृद्धिको मार्गमा लान सक्छ ।’

उनले ऊर्जा क्षेत्रमा सकारात्मक सन्देश फैलाउन सञ्चार माध्यम र निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताए ।  डाँगीले ऊर्जा क्षेत्रका नकारात्मक पक्षभन्दा सकारात्मक सम्भावना र उपलब्धिमा केन्द्रित हुन आग्रह गर्दै नेपाललाई समृद्ध बनाउने प्रमुख आधार जलस्रोत र ऊर्जा क्षेत्र नै भएकोले सरकारले पनि यो क्षेत्रलाई नजरअन्दाज गर्न नहुन बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?