तेहरानको १४ बुँदे प्रस्तावमा अमेरिकी जवाफ, समीक्षा गर्दै इरान

लोकपथ
0
Shares

काठमाडौं । इरानले आफ्नो १४ बुँदे शान्ति प्रस्तावमा अमेरिकाबाट प्राप्त प्रतिक्रियाको समीक्षा सुरु गरेको छ । तेहरानले आफ्नो योजना युद्ध अन्त्य गर्ने मात्र रहेको बताएको छ।

इरान र अमेरिकाबिच दुई हप्तासम्म चलेको युद्धविरामपछि पनि अहिलेसम्म स्थायी शान्तिका लागि सहमतिको कुनै सम्भावना देखिएको छैन ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले युद्ध अन्त्यका लागि इरानले प्रस्ताव गरेको १४ बुँदे योजनाको अमेरिकाले जवाफ दिएको पुष्टि गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ताले सरकारी टेलिभिजन च्यानल आइआरआइबीलाई दिएको अन्तर्वार्तामा यस्तो जानकारी दिएका हुन्।

बाघाईले अमेरिकाले दिएको जवाफको समीक्षा भइरहेको बताएका छन्।

उनले भने, ‘इरानको योजना केवल युद्ध समाप्त गर्नमा केन्द्रित छ र आणविक क्षेत्रको विवरणसँग सम्बन्धित केही छैन। अहिले हामी लेबनान लगायत क्षेत्रमा युद्ध अन्त्य गर्ने मापदण्डमा ध्यान केन्द्रित गरिरहेका छौँ । यतिबेला हामीसँग आणविक विषयमा कुनै छलफल भइरहेको छैन ।’

अमेरिकाको मुख्य मुद्दा परमाणु हो । इरानले आणविक बम बनाउने प्रयास गरिरहेको कुरालाई बारम्बार अस्वीकार गर्दै आएको छ । इरानले आफ्नो कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको बताएको छ, यद्यपि आणविक हतियार नभएको र हतियार स्तरको नजिक युरेनियम संवर्धित गरेको इरान एक मात्र देश हो।

पश्चिम एसियाको संवेदनशील समुद्री क्षेत्र स्ट्रेट अफ हर्मुजमा पानीजहाजमा आक्रमण हुने घटना तीव्र भएको छ । सोमबार बेलायती सैन्य निकायले केही घण्टाको अन्तरालमा दुई जहाजलाई निशाना बनाइएको जानकारी दिएको थियो, जसले यस क्षेत्रमा पहिलेदेखि नै विद्यमान तनाव थपेको थियो।

बेलायतको सामुद्रिक सुरक्षा निकाय ‘युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन (यूकेएमटीओ)’ का अनुसार आइतबार राति ११ः४० बजे संयुक्त अरब इमिरेट्स (युएई) को फुजैराह तट नजिकै एक तेल ट्याङ्करमा अज्ञात क्षेप्यास्त्रले आक्रमण गरेको थियो । आक्रमणका बाबजुद जहाजका सबै चालक दलका सदस्य सुरक्षित रहेको र वातावरणीय क्षति नभएको एजेन्सीले जनाएको छ ।

आक्रमणको तरिका र आक्रमणकारीको पहिचानबारे भने स्पष्ट जानकारी सार्वजनिक भएको छैन । यसअघि आइतबार पनि यही जलमार्गमा अर्को जहाजमा आक्रमण भएको थियो । इरान र अमेरिकाबिच बढ्दो तनावलाई लगातार जारी यी घटनाले थप गम्भीर बनाएको छ ।

युद्ध अन्त्यका लागि तेहरानको प्रस्ताव र अमेरिकी प्रतिक्रिया

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले तेहरानको प्रस्तावमा वासिङ्टनको प्रतिक्रिया प्राप्त भएको बताएका छन् । यो सन्देश पाकिस्तान हुँदै इरानसम्म पुगेको हो।

प्रवक्ता बाघाईले भने, ‘इरानले हाल अमेरिकी दृष्टिकोणको समीक्षा गरिरहेको छ। सम्पूर्ण प्रक्रिया सकिएपछि इरानले जवाफ दिनेछ ।’

बाघाईले इरानको ‘१४ बुँदे प्रस्ताव’ यस क्षेत्रमा जारी युद्ध अन्त्य गर्नका लागि मात्र रहेको दाबी गरे । यसमा आणविक मुद्दासँग सम्बन्धित कुनै पनि कुरा समावेश छैन । उनले अहिले आफ्नो पूर्ण ध्यान लेबनान लगायत सम्पूर्ण क्षेत्रमा लडाइँ रोक्ने रहेको बताएका छन् ।

उनले यो प्रस्तावमा स्ट्रेट अफ हर्मुजबाट बारुदी सुरुङ हटाउन आह्वान गरिएको भन्ने भनाइको खण्डन गरे ।

उनले भने, ‘इरानले कुनै पनि दबाब वा समय सीमामा वार्ता गर्न स्पष्ट रूपमा अस्वीकार गरेको छ। तेहरानले ३० दिनभित्र सबै मुद्दाहरू समाधान गर्न चाहेको छ । यसका लागि अमेरिकाले दुई महिनाको युद्धविरामको सुझाव दिएको थियो ।

इरानका मुख्य मागहरूमा आफ्नो फ्रिज गरिएको सम्पत्ति रिहाइ, प्रतिबन्धहरू हटाउने र यस क्षेत्रबाट अमेरिकी सेनाको फिर्ती समावेश छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?