काठमाडौं । अमेरिकासँगको वार्ताका लागि इरानले नयाँ प्रस्ताव पठाएको छ । अमेरिकासँग वार्ता गर्न मध्यस्थकर्ता पाकिस्तानलाई एउटा नयाँ प्रस्ताव पठाइएको इरानको सरकारी सञ्चारमाध्यमले शुक्रबार जनाएको छ ।
इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले भनेको छ, ‘इस्लामिक रिपब्लिक अफ इरानले पाकिस्तानलाई अमेरिकासँगको वार्तामा मध्यस्थकर्ताको रूपमा एक नयाँ प्रस्ताव पठाएको छ ।’
यद्यपि, यस प्रस्तावमा के–के कुराहरू समावेश गरिएका छन् भन्नेबारे जानकारी दिइएको छैन ।
इरान र अमेरिकाले करिब ४० दिनको लडाइँपछि युद्धविराम गरे र त्यसपछि दुवै देशका प्रतिनिधिहरूले एक चरणको वार्ता गरेका थिए । त्यसयता वार्ता रोकिएको छ ।
अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी गरिदिएको छ । अर्कोतर्फ, इरान युद्ध सुरु भएदेखि इरानले होर्मुज जलमार्गबाट जहाजहरूको आवतजावत मुख्य रूपमा बन्द गरिदिएको छ । युद्ध सुरु भएयता यहाँबाट फाट्टफुट्ट जहाजहरू मात्रै गुज्रन सकेका छन् ।
शुक्रबार इरानका विदेशमन्त्री अब्बास अराघचीले टेलिफोनमार्फत साउदी अरब, कतार, टर्की, इराक र अजरबैजानका विदेश मन्त्रीहरूसँग कुराकानी गरेका थिए ।
इरानी विदेश मन्त्रालयबाट जारी विज्ञप्तिअनुसार यस कुराकानीमा इरानले युद्ध अन्त्य गर्न चालेका पछिल्ला कदमहरूबारे चर्चा भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया