नीतिगत अस्पष्टताले व्यवसायी मर्कामा परे : राजेन्द्र मल्ल

लोकपथ
49
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रका छाता संगठनहरूबिच व्यावसायिक एकता र सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनको सन्दर्भमा बोल्दै उनले निर्वाचन लोकतान्त्रिक प्रक्रिया भएको र यसको समापनसँगै सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने बताए ।

पूर्वअध्यक्ष मल्लले निर्वाचनमा हुने हार–जितलाई बिर्सेर निजी क्षेत्रको हकहितका लागि एकतावद्ध हुनुपर्ने धारणा राखे । उनले महासंघमा निर्वाचित भएर आउने नयाँ नेतृत्वसँग नेपाल चेम्बर अफ कमर्सले सधैँझैँ सहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । वर्तमान समयमा निजी क्षेत्रले विभिन्न चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । सरकारले दिने आश्वासन र व्यवहारमा भिन्नता रहेको उनले बताए ।

उनले भने, ‘निर्वाचनमा प्रतिष्पर्धा हुनु स्वाभाविक हो, तर निर्वाचन सकिएपछि मुलुकलाई कुन बाटोमा डोहोर्‍याउने भन्ने विषयमा सबैको ध्यान केन्द्रित हुनुपर्छ । सरकारले व्यवसायीका कुरा सुन्ने भन्दा पनि पहिले नियन्त्रणमा लिने (थुन्ने अनि सुन्ने) प्रवृत्ति देखाएको छ । यसले लगानी र व्यवसाय गर्ने वातावरणलाई प्रभावित पारेको छ । मुलुकको समृद्धि केवल राजनीतिक दलको नेतृत्वबाट मात्र सम्भव छैन, यसमा उद्यमी, व्यवसायी र आम जनताको उत्तिकै भूमिका हुन्छ । कुनैपनि उद्यमीले कानुनविपरीत कार्य गरेमा सजाय पाउनुपर्छ, यसमा कसैको विमति छैन । तर, अन्तर्राष्ट्रिय अभ्यासविपरीत व्यवसायीमाथि हुने धरपकड र हतोत्साही गर्ने कार्य तत्काल रोकिनुपर्छ ।’

नीतिगत अस्पष्टता र झन्झटिलो व्यवस्थाका कारण व्यवसायीहरू मर्कामा परेको उनको तर्क छ । हालै देखिएको ‘एमआर’ (बजार अनुगमन/नियमन) सम्बन्धी समस्याबारे चेम्बरले वाणिज्य मन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिँदै उनले सरकारले नीति निर्माण गर्दा निजी क्षेत्रसँग पर्याप्त छलफल नगरेको गुनासो गरे ।

उनले कानूनको शासनलाई आत्मसात गर्दै निजी क्षेत्रका समस्या समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघजस्ता संस्थाहरूले सक्रिय र एकीकृत रूपमा पहल गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?