काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी हेमराज ढकालले वर्तमान आर्थिक चुनौतीपूर्ण अवस्थामा निजी क्षेत्रको नेतृत्व गर्न अनुभवी र व्यावसायिक टिम आवश्यक रहेको बताएका छन् ।
महासंघको आसन्न निर्वाचनलाई लक्षित गरी आयोजित कार्यक्रममा बोल्दै ढकालले आफ्नो प्यानलले सरकारसँग प्रभावकारी समन्वय गर्दै निजी क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने दाबी गरे । उनले नयाँ सरकारका चुनौती र सम्भावनाबीच निजी क्षेत्रलाई मजबुत बनाउन सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गरे ।
ढकालका अनुसार उनको टिममा पुरानो अनुभव र नयाँ पुस्ताको नवप्रवर्तनशील सोचको सन्तुलन रहेको छ । सचिन ढकाल र जश श्रेष्ठजस्ता ‘जेनजी’ पुस्ताका उद्यमीदेखि गोपाल खनाल, शैलेन्द्र गोरागाईँ, अविनाश बोहोरा, सुनिल नारायण श्रेष्ठ र डा.रामशरण थपलिया जस्ता अनुभवी व्यक्तित्वहरू समावेश रहेको उनले बताए ।
यो मिश्रित टिमले स्टार्टअप, नवप्रवर्तन र परम्परागत उद्योग सबै क्षेत्रको प्रतिनिधित्व गर्ने उनको दाबी छ ।
निजी क्षेत्रले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र रोजगारीमा ८० प्रतिशतभन्दा बढी योगदान पुर्याए पनि राज्यको प्राथमिकतामा पर्याप्त स्थान नपाएकोमा उनले चिन्ता व्यक्त गरे । अनुसन्धानका नाममा प्रमाणबिनै व्यवसायीलाई थुनामा राख्ने प्रवृत्तिप्रति आपत्ति जनाउँदै उनले निजी क्षेत्रको मनोबल कमजोर बनाउने कार्य नगर्न आग्रह गरे ।
ढकालले आफ्नो कार्यकालमा कानून संशोधन, आर्थिक सुधार सुझाव आयोग गठन तथा बहुदर कर प्रणालीका लागि पहल गरिएको उल्लेख गर्दै अब ‘निजी क्षेत्र संरक्षण र प्रवद्र्धन रणनीति (PSPP) कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
वर्तमान सरकारले अघि सारेका १०० दिने कार्ययोजना तथा केही नीतिगत सुधारका घोषणा सकारात्मक भए पनि व्यवहारिक कार्यान्वयन अझै कमजोर रहेको उनको भनाइ छ ।
उनले १५ वटा पुराना कानुन खारेज र राजस्व अनुसन्धान विभाग पुनर्संरचनाजस्ता कदमलाई सकारात्मक भए पनि निजी क्षेत्रप्रतिको दृष्टिकोणमा अझ सुधार आवश्यक रहेको बताए ।
ढकालले महासंघको आगामी नेतृत्वले सरकारसँग स्पष्ट संवाद गर्न सक्ने, व्यावसायिक समस्या समाधान गर्न सक्षम र निजी क्षेत्रको हकहितमा दृढतापूर्वक प्रस्तुत हुनुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया