दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई फेरि अर्को संकट, जेल सजाय ५ बाट ७ वर्ष पुर्‍याइयो

लोकपथ
35
Shares

सियोल । दक्षिण कोरियामा पूर्वराष्ट्रपति युन सुक योलविरुद्धको कानुनी कारबाही थप कठोर बन्दै गएको छ । न्याय प्रक्रियामा अवरोध पु¥याएको अभियोगमा पहिले दिइएको पाँच वर्षको जेल सजायलाई उच्च अदालतले बढाएर सात वर्ष पु¥याएको छ । यसले उनीमाथिको कानुनी संकट अझ गहिरिएको संकेत दिएको छ ।

सियोल उच्च अदालतले बुधबार गरेको फैसलामा युनको कार्यलाई ‘अत्यधिक निन्दनीय’ ठहर गर्दै सजाय बढाएको हो । अदालतका न्यायाधीशका अनुसार युनले पक्राउ वारेन्ट कार्यान्वयनमा अवरोध पु¥याउने प्रयास मात्र नगरेर राज्यका सुरक्षाकर्मीहरूलाई निजी प्रयोजनका लागि प्रयोग गर्न खोजेका थिए । 

यसअघि जनवरीमा तल्लो अदालतले राष्ट्रपति सुरक्षा एजेन्सीका सदस्यहरूलाई प्रयोग गरेर आफ्नै गिरफ्तारी रोक्न खोजेको प्रमाणित भएपछि पाँच वर्षको सजाय सुनाएको थियो । त्यस निर्णयविरुद्ध युन र अभियोजन पक्ष दुवैले अपिल गरेका थिए । युनले आफ्नो गिरफ्तारी वारेन्ट नै ‘गैरकानुनी अनुसन्धान’ मा आधारित रहेको दाबी गरेका थिए भने विशेष अभियोजकहरूले उनको अपराधको गम्भीरता हेर्दा कम्तीमा १० वर्षको सजाय हुनुपर्ने माग गरेका थिए ।

उच्च अदालतले भने दुवै पक्षका तर्क सुनेपछि सजाय बढाएर सात वर्ष कायम गरेको हो । फैसलामा अदालतले सार्वजनिक पदको दुरुपयोग गर्दै राज्य संयन्त्रलाई व्यक्तिगत सुरक्षाका लागि प्रयोग गर्न खोज्नु कानुनी शासनविरुद्धको गम्भीर कार्य भएको उल्लेख गरेको छ ।

फैसला सुनुवाइका क्रममा कालो सुट र सेतो सर्टमा अदालतमा उपस्थित युनले कुनै विशेष प्रतिक्रिया नदेखाएको जनाइएको छ ।

युन सुक योलले पहिले नै अर्को गम्भीर मुद्दामा सजाय भोगिरहेका छन् । सन् २०२४ को अन्त्यतिर मार्सल ल लागू गर्ने असफल प्रयाससँग जोडिएको विद्रोहको नेतृत्व गरेको अभियोगमा उनलाई आजीवन कारावासको सजाय सुनाइएको छ । यस नयाँ फैसलाले उनीमाथिको राजनीतिक र कानुनी भविष्य थप जटिल बनेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?