काठमाडौं । सीमा नाकामा हुने अवैध आयात तथा नक्कली सामानको चोरी पैठारीमा सरकारले कडाइ गरेसँगै अटोमोबाइल क्षेत्रमा पनि त्यसको सकारात्मक प्रभाव देखिन थालेको छ ।
यही क्रममा नेपालका लागि टाटाका सक्कली पार्टपुर्जाको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्सले ‘सक्कली टाटा पार्टपुर्जा प्रयोग गरौँ’ भन्ने नारासहित देशव्यापी सचेतना अभियान सुरु गरेको छ ।
गाडीमा नक्कली तथा कमसल पार्टपुर्जा प्रयोग गर्दा सवारीसाधनको आयु घट्ने, मर्मत खर्च बढ्ने र दुर्घटनाको जोखिमसमेत बढ्ने भएकाले कम्पनीले मेकानिक्स, चालक तथा गाडीधनी लक्षित अभियान सञ्चालनमा ल्याएको जनाएको छ ।
अभियानअन्तर्गत सिप्रदी अटोपार्ट्सका प्रतिनिधिहरू धनगढी, भैरहवा, वीरगञ्ज र नेपालगञ्जलगायत प्रमुख व्यापारिक तथा सीमावर्ती सहरका ग्यारेज, वर्कशप, राजमार्ग मर्मत केन्द्र र यातायात पार्किङ स्थलमा पुगेर प्रत्यक्ष रूपमा सचेतना फैलाइरहेका छन् ।
कम्पनीले ‘सक्कली टाटा पार्टपुर्जा यसरी चिन्नुहोस्’ भन्ने सन्देशसहित नमुना पार्टपुर्जा राखिएको सानो गाडीमार्फत उपभोक्ता र प्राविधिकहरूलाई सक्कली पार्टपुर्जाको महत्त्वबारे जानकारी दिइरहेको छ ।
सिप्रदीका अनुसार सक्कली टाटा पार्टपुर्जा चिन्न प्याकेटमा उल्लेख गरिएको विशेष नम्बर कोड, आधिकारिक देश संकेत कोड तथा ‘सिप्रदी अटोपार्ट्स’ को होलोग्राम वा ट्याग अनिवार्य रूपमा हेर्नुपर्छ । कम्पनीले बजारमा उस्तै देखिने प्याकेटमा नक्कली सामान आउने भएकाले उपभोक्तालाई सचेत रहन आग्रह गरेको छ ।
प्राविधिकहरूका अनुसार नक्कली पार्टपुर्जा प्रयोग गर्दा सुरुवाती खर्च कम देखिए पनि दीर्घकालमा इन्जिनलगायत गाडीका महत्त्वपूर्ण भागमा गम्भीर क्षति पुग्न सक्छ । सक्कली पार्टपुर्जा प्रयोगले गाडीको कार्यक्षमता बढ्नुका साथै यात्रुको सुरक्षा सुनिश्चित हुने कम्पनीको दाबी छ ।
सरकारले सीमा क्षेत्रमा गरेको कडाइपछि नक्कली पार्टपुर्जाको कारोबार निरुत्साहित भइरहेको अवस्थामा सुरु गरिएको यो अभियानले उपभोक्तालाई ठगीबाट जोगाउनुका साथै अटोमोबाइल क्षेत्रमा थप सुधार ल्याउने अपेक्षा गरिएको छ ।
सिप्रदी अटोपार्ट्सले टाटाका सक्कली पार्टपुर्जा खरिद गर्दा आधिकारिक विक्रेता तथा आफ्ना आधिकारिक सञ्जालमार्फत मात्रै खरिद गर्न सबै ग्राहकलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया