काठमाडौं । बङ्गलादेशले एक सन्दिग्ध आतङ्ककारी र दुई पूर्व सैनिकको सम्भावित आक्रमणको चेतावनीपछि विमानस्थलको सुरक्षा कडा पारेको छ ।
बङ्गलादेशको नागरिक उड्डयन प्राधिकरण (सिएएबी) ले प्रहरी मुख्यालयको सतर्कतापछि देशका आठ विमानस्थलहरूमा तीन अन्तर्राष्ट्रिय टर्मिनलसहित थप उपायहरू लागू गरिएको बताएको छ ।
सीएएबीका अध्यक्ष मुस्तफा महमुद सिद्दिकले ढाकामा पत्रकारहरूसँग भने, ‘हामीले प्रहरी मुख्यालयबाट सुरक्षा बलियो बनाउन आग्रह भएपछि सोही मुताविक काम गरेका छौँ ।’
उनले भने, ‘विमानस्थललाई मुख्य नाकाका रूपमा तोकिएको छ र सामान्यतया यहाँको सुरक्षा कडा राखिन्छ, तर पत्र पाएपछि यसलाई थप बढाइएको छ ।’
बङ्गलादेश प्रहरीले गत हप्ता प्रतिबन्धित लडाकु समूहका एक सदस्य दुई पूर्व सैनिकसँग नियमित सम्पर्कमा रहेको बताएको थियो ।
उक्त आक्रमणकारीले ‘धारिलो हतियार, बन्दुक वा विस्फोटक पदार्थ’ प्रयोग गरेर विमानस्थल, संसद् र धार्मिक स्थललगायत प्रमुख प्रतिष्ठानमा आक्रमण गर्न सक्ने बताइएको छ ।
बङ्गलादेशलाई समय–समयमा अल–कायदा र इस्लामिक स्टेट समूहबाट प्रेरित घरेलु लडाकु समूहहरूले निशाना बनाउने गरेका छन् ।
सन् २०१६ मा ढाकामा एक बेकरीमा भएको आक्रमणमा परी २२ जनाको मृत्यु भएको थियो ।
त्यही समयमा, अल–कायदासँग सम्बन्धित लडाकुहरूले बङ्गलादेशी मूलका अमेरिकी नागरिक अभिजित रोयसहित धेरै धर्मनिरपेक्ष लेखक र अभियन्ताहरूको हत्या गरेका थिए।
सन् २०२१ मा धर्मनिरपेक्षको पक्षमा वकालत गर्दै आएका एक ब्लगरको हत्या गरेको आरोपमा पाँच जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया