अमेरिकामा ह्वाइट हाउस संवाददाता रात्रिभोजमा गोली प्रहार, ट्रम्पसहित शीर्ष अधिकारीहरू सुरक्षित

लोकपथ
84
Shares

काठमाडौं । अमेरिकामा शनिबार राति आयोजित ह्वाइट हाउस संवाददाता रात्रिभोजका क्रममा गोली चलेको घटनापछि राष्ट्रपति डोनाल्ड ट्रम्पसहित देशका शीर्ष अधिकारीहरूलाई तत्काल सुरक्षित स्थानमा सारिएको छ ।

घटनापछि उपराष्ट्रपति जेडी भान्स तथा मन्त्रिपरिषद्का अन्य सदस्यहरूलाई पनि सुरक्षाकर्मीहरूले तुरुन्तै सुरक्षित स्थानमा लगेको जनाइएको छ । प्रारम्भिक विवरणअनुसार राष्ट्रपति, उपराष्ट्रपति र सबै उच्च सरकारी अधिकारीहरू सकुशल रहेका छन् ।

सुरक्षा अधिकारीहरूले कार्यक्रममा बन्दुकधारीले गोली चलाएको पुष्टि गरेका छन् । सीएनएनका अनुसार राष्ट्रपति ट्रम्प पूर्ण रूपमा सुरक्षित छन् भने प्रशासनका एक अधिकारीले मन्त्रिपरिषद्का सबै सदस्यहरू सुरक्षित रहेको बताएका छन्।

डिनर चलिरहेको समयमा अमेरिकी सेक्रेट सर्भिसका एजेन्टहरूले गोली चलेको भन्दै चेतावनी दिएका थिए । त्यसपछि रेडियो सन्देशमार्फत एक शंकास्पद आक्रमणकारीलाई नियन्त्रणमा लिइएको जानकारी पनि सार्वजनिक गरिएको छ ।

घटनापछि वासिङटन हिल्टनको बैंक्वेट हललाई सुरक्षाकर्मीहरूले घेरा हालेर नियन्त्रणमा लिएका थिए । सयौँ सहभागीहरू टेबलमुनि लुकेर ज्यान जोगाउन बाध्य भएका थिए भने सुरक्षाकर्मीहरूले तत्काल झुक्न र सुरक्षित मार्ग प्रयोग गर्न निर्देशन दिएका थिए ।

प्रत्यक्षदर्शीहरूका अनुसार घटनास्थलमा पाँचदेखि आठ राउन्डसम्म गोली चलेको आवाज सुनिएको थियो । ट्रम्पको भाषणको प्रतीक्षामा रहेका वरिष्ठ पत्रकार, सेलिब्रेटी तथा सरकारी अधिकारीहरूबीच कार्यक्रम तत्काल रोकिएको थियो । हाल घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?