काठमाडौैं । गोल्यान समूहको अधिकांश लगानी रहेको सिटी होटेलको संस्थापक सेयर बिक्रीको अनुसन्धान रोक्न सीडीएससीका कार्यकारी प्रमुखलाई नै हटाउने तयारी भएको छ । सिडीएससी सीडीएससी र सिआइबीले संयुक्तरुपमा सिटी होटेलको संस्थापक सेयर बिक्रीको विषयमा छानबिन गरेपछि सीडीएससीका कार्यकारी प्रमुख प्रविन पन्दाकलाई हटाउन लागिएको हो ।
सीडीएससीका कार्यकारी प्रमुख प्रविन पन्दाकले लामो समयदेखि दोहोरो आइजीन हुनुपर्ने र संस्थापक सेयरलाई सर्वसाधारण समूहमा स्वतः रूपान्तरण गर्ने विधि परिमार्जन हुनुपर्ने विषय उठाउँदै आएकी थिइन् । धितोपत्र सञ्चालन नियमावली अनुसार दोहोरो आइजीनको व्यवस्था गर्न सकिने व्यवस्था गरेर स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाएकी समेत थिइन् ।
तर धितोपत्र बोर्डले उक्त नियमावली स्वीकृत नगरी होल्ड गरेर राखेको थियो । यता दोहोरो आइजीनको विवाद कायमै रहेको कारण पन्दाकले कतिपय कम्पनीका संस्थापक र सर्वसाधारण समूहलाई छुट्टाउन दोहोरो आइजीन दिने भन्दै होल्ड गरेकी थिइन्, जसमा गोल्याउन समूहका केही सेयर समेत रहेका थिए ।
गोल्यान समूहको रिलायन्स स्पीनिङ मिल्सको विवाद, पियोर इनर्जीको संस्थापक सेयर सूचीकरण लगायतका विषयमा विवाद चलिरहेकै बेला सिटी होटेलको संस्थापक सेयर विक्रीका सम्बन्धमा छानबिन थालेपछि पन्दाकलाई सीडीएससीबाट हटाएर छानबिन रोक्न लागिएको हो ।
गोल्यान समूहका कर्मचारीसमेत रहेकी ज्योति गैरेले पन्दाकलाई हटाउन नेपाल स्टक एक्सचेन्जका सिइओ मार्फत लबिङ गरिरहेकी छिन् । गैरैले प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन आफ्ना साथी रहेको भन्दै पन्दाकलाई ५ दिनभित्र हटाउने भन्दै ३ दिनअघि पन्दाकका नजिककालाई खबर पठाएकी थिइन् ।
त्यसपछि गैरेले नेप्सेका सिइओ चूडामणि चापागाईमार्फत् पन्दाकलाई सीडीएससीको प्रमुखबाट हटाउन फिर्ता बोलाउन लगाएको नेप्से स्रोतले बतायो ।
नेप्से सञ्चालक समिति स्रोतका अनुसार सिइओ चापागाईँले नेप्सेको तर्फबाट प्रतिनिधि बनी सीडीएससीमा कार्यकारी प्रमुख रहेकी पन्दाकलाई नेप्सेमै फिर्ता बोलाउन सञ्चालक समितिमा प्रस्ताव लगिसकेका छन् । पन्दाक नेप्सेको तर्फबाट प्रतिनिधि बनी सीडीएससीमा कार्यकारी प्रमुख बनेकी थिइन् ।
पन्दाकलाई सीडीएससी सञ्चालक समितिले कार्यकारी प्रमुखका नियुक्त गर्दा ४ वर्षको कार्यकालका लागि नियुक्त गरेको थियो । तर सीडीएससीबाट हटाउँदा कानुनी अड्चन आउन सक्ने भन्दै नेप्सेका सिइयोमार्फत् पन्दाकलाई नेप्सेमै फिर्ता बोलाएर सीडीएससीबाट हटाउन लागिएको हो ।
पन्दाकलाई सीडीएससीबाट हटाउन सकिए पियोर इनर्जीको सेयर सूचिकरण विवाद मिल्ने र सिटी होटेलको संस्थापक सेयर बिक्रीको अनुसन्धान रोक्न सकिने उद्देश्यका साथ गोल्यान समूहकी प्रतिनिधिका रूपमा ज्योति गैरे पन्दाकलाई हटाउन प्रधानमन्त्री बालेन्द्र शाह र प्रमुख सल्लाहकार कुमार बेनको साथी हुँ भन्दै शक्तिकेन्द्रका धाइरहेकी छिन् ।
सिटी होटेलको सेयर बिक्रीमा सीआइबीले समेत अनुसन्धान गर्दै
यता सिटी होटेलको लकइनमा रहेको संस्थापक सेयर बिक्री गरेको सम्बन्धमा उजुरी परेपछि केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले समेत छानबिन थालेको छ । सीआइबीले नेपाल स्टक एक्सचेन्ज, सीडीएससी लगायतका निकायलाई पत्र नै लेखेर कागजात माग गरेको छ । कागजात माग भएपछि सीडीएससीले सिटी होटेलले संस्थापक सेयरका रूपमा रही लकइनमा रहेको १९ लाखभन्दा बढी कित्ता सेयर बिक्री गरेको पाइएको र उक्त कार्य गैर कानुनी रहेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई कागजातसहित जवाफ पठाइसकेको छ ।
सिटी होटेलले आफ्नो संस्थापक सेयर लक इन अवधिमै बिक्री गरेको सम्बन्धमा थप छानबिन हुँदा कारबाही हुनसक्ने भएपछि पन्दाकलाई नै हटाएर अनुसन्धान कमजोर पार्न खोजिएको हो । पन्दाकलाई वैशाख ११ गते शुक्रबार नै नेप्सेमा फिर्ता बोलाउने तयारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया