हर्मुजबाट इरानले कब्जा गर्‍यो दुइटा पानीजहाज, विश्व तेल बजारमा असर

लोकपथ
133
Shares

काठमाडौं । इरानले स्ट्रेट अफ हर्मुज हुँदै गइरहेका दुई अन्तर्राष्ट्रिय पानीजहाज नियन्त्रणमा लिएपछि क्षेत्रीय तनाव पुनः चर्किएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजिसी) ले बुधबार ती जहाज नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको हो ।

आईआरजिसीको नौसैनिक युनिटले प्रारम्भमा जहाजहरूलाई चेतावनी दिएको तर नरोकेपछि गनबोटमार्फत गोलाबारी गरेर नियन्त्रणमा लिएको बताइएको छ । समुद्री नियम उल्लंघन गरेको आरोपमा ती जहाजलाई इरानी बन्दरगाहतर्फ एस्कर्ट गरिएको जनाइएको छ ।

नियन्त्रणमा लिइएका जहाजमध्ये एउटा लाइबेरियाको झण्डा बोकेको ‘एपामिनोन्डास’ र अर्को पानामाको झण्डा बोकेको ‘एमएससी फ्रान्सेस्का’ रहेको बताइएको छ । केही रिपोर्टअनुसार जहाजको संरचना र नियन्त्रण कक्षमा क्षति पुगे पनि चालकदल सुरक्षित रहेको उल्लेख छ ।

यसअघि अमेरिकाले इरानी जहाज कब्जा गरेपछि इरानले हर्मुज जलडमरू खुला घोषणा गरे पनि भोलिपल्टै पुनः कडाइ गर्दै आएको छ । बुधबार नै आईआरजिसीले तेस्रो जहाजमा आक्रमण गरे पनि पछि अघि बढ्न दिएको बताइएको छ ।

यस घटनाप्रति अमेरिकाले भने युद्धविराम उल्लंघन नभएको प्रतिक्रिया दिएको छ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले ती जहाज अमेरिका वा इजरायलका नभएकाले युद्धविराममा असर नपर्ने बताएकी हुन् । उनले इरानको गतिविधिलाई समुद्री डाँकाजस्तो व्यवहार भन्दै आलोचना गरेकी छन् ।

हाल हर्मुज क्षेत्रमा अमेरिका पनि सक्रिय रूपमा नाकाबन्दीमा संलग्न छ। उसले इरानतर्फ जाने–आउने जहाजहरू रोक्दै आएको छ । अमेरिकाको यही नीतिका कारण इरान वार्तामा बस्न अस्वीकार गर्दै आएको छ, जसका कारण इस्लामावादमा तय भएको दोस्रो चरणको वार्ता स्थगित भएको छ ।

इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकी नाकाबन्दी कायम रहँदासम्म पूर्ण युद्धविरामको अर्थ नहुने बताएका छन् । यसबीच इरानले तेहरानमा शक्ति प्रदर्शन गर्दै ब्यालिस्टिक हतियार सार्वजनिक गरेको छ ।

स्ट्रेट अफ हर्मुज विश्व ऊर्जा आपूर्तिको करिब २० प्रतिशत ढुवानी हुने महत्वपूर्ण मार्ग हो । पछिल्लो अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दुई सातापछि पहिलोपटक प्रतिव्यारेल १०० डलर नाघेको छ ।

अमेरिकी सेनाका अनुसार नाकाबन्दीका कारण हालसम्म कम्तीमा २९ जहाज फर्काइएको छ । सामान्य अवस्थामा दैनिक करिब १३० जहाज आवतजावत गर्ने यस मार्गमा अहिले संख्या उल्लेखनीय रूपमा घटेको छ ।

युद्ध अन्त्यका लागि अमेरिका इरानले उच्चस्तरीय युरेनियम कार्यक्रम परित्याग गर्नुपर्ने अडानमा छ भने इरानले प्रतिबन्ध हटाउने, क्षतिपूर्ति र हर्मुजमा आफ्नो नियन्त्रणको मान्यता माग्दै आएको छ । यी विषयमा सहमति नजुट्दा स्थिति अझै अनिश्चित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?