काठमाडौं । संयुक्त राष्ट्रसंघका लागि इरानका दूत अमिर सइद इरवानीले अमेरिकाले जफत गरेको इरानी व्यापारिक जहाज तत्काल बिना शर्त रिहा गर्न अन्तर्राष्ट्रिय दबाब आवश्यक रहेको बताएका छन् ।
इरवानीले एन्टोनियो गुटेरेस र सुरक्षा परिषद्का अध्यक्षलाई पत्र लेख्दै उक्त घटनाले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको दाबी गरेका छन् । उनले अमेरिकाले इरानको तट नजिकै ओमानको सागर क्षेत्रमा जहाज कब्जा गरेको उल्लेख गरेका छन् ।
पत्रमा इरवानीले जहाजमाथिको जबरजस्ती नियन्त्रण, आक्रमण र धम्कीका कारण चालक दल तथा उनीहरूको परिवारको सुरक्षामा गम्भीर जोखिम उत्पन्न भएको बताएका छन् । उनले यस्तो कार्यलाई ‘समुद्री डकैती’ को संज्ञा दिँदै यसले अन्तर्राष्ट्रिय ढुवानी मार्गको सुरक्षामा असर पार्ने चेतावनी दिएका छन् ।
इरवानीका अनुसार जहाज जफतको घटना संयुक्त राष्ट्रसंघका प्रस्तावविपरीत हुनुका साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको युद्धविरामको उल्लङ्घन समेत हो ।
उनले उक्त घटनाले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको र पहिले नै तनावग्रस्त अवस्थालाई थप अस्थिर बनाउने बताएका छन् ।
इरवानीले संयुक्त राष्ट्रसंघलाई घटनाको निन्दा गर्दै अमेरिकालाई जवाफदेही बनाउन र जहाजसहित त्यसमा रहेका सबै व्यक्तिलाई बिना शर्त रिहा गर्न पहल गर्न आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया