अमेरिका–इरान युद्धविराम संकटमा, तनाव चुलिँदै

लोकपथ
77
Shares

तेहरान । अमेरिका र इरानबीच जारी युद्धविराम समाप्तिको संघारमा पुगेसँगै दुवै देशबीचको तनाव थप चुलिएको छ । वार्ताको भविष्य अनिश्चित बन्दै गइरहेका बेला दुवै पक्षले एकअर्काविरुद्ध कडा चेतावनी दिएका छन्, जसले सम्भावित द्वन्द्वको जोखिम बढाएको छ ।

ह्वाइट हाउसका अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भान्स दोस्रो चरणको वार्ताका लागि पाकिस्तानको इस्लामाबाद जाने तयारीमा छन् । यद्यपि इरानले अमेरिकी कदमप्रति असन्तुष्टि जनाउँदै वार्तामा सहभागी हुने वा नहुने विषयमा कुनै स्पष्ट धारणा सार्वजनिक गरेको छैन । इरानले अमेरिकामाथि आफ्ना बन्दरगाहहरूमा नाकाबन्दी लगाएको र एक जहाज नियन्त्रणमा लिएर युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको छ ।

इरानका संसद् अध्यक्ष मोहम्मद बाघेर घालीबाफले अमेरिकाले वार्तालाई दबाबको माध्यम बनाउन खोजेको आरोप लगाउँदै असुरक्षित वातावरणमा वार्ता स्वीकार्य नहुने बताएका छन् । उनले पछिल्ला दिनहरूमा इरानले नयाँ सैन्य रणनीति तयारी गरिरहेको संकेत पनि दिएका छन् । यसैबीच, इरानको रिभोलुसनरी गार्ड्सले होर्मुज जलडमरूमध्य बाट अनुमति बिना पार गर्ने जहाजहरूलाई निशाना बनाइने चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले भने इरानमाथि सोही जलडमरूमध्य क्षेत्रमा जहाज अवरोध गरेर युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन् । उनले फेब्रुअरी २८ मा अमेरिका र इजरायलले सुरु गरेको युद्धपछि इरानले विश्वको करिब पाँचौँ भाग तेल ओसारपसार हुने मार्ग प्रभावित पारेको दाबी गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत दबाब जारी रहने संकेत दिएका छन् ।

युद्धविरामको समयसीमा सकिन लाग्दा ट्रम्पले इरानलाई वार्तामा आउन आग्रह गर्दै अन्यथा ठूलो स्तरको सैन्य कारबाही हुनसक्ने चेतावनी दिएका छन् । उनका अनुसार युद्धविराम थपिने सम्भावना न्यून छ ।

तनावबीच अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य भने घट्दो क्रममा देखिएको छ । विश्लेषकहरूका अनुसार अमेरिका–इरानबीच सहमति भएर होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा आउने आशाले बजार प्रभावित भएको हो । तेहरानमा भने युद्धविरामपछि आंशिक रूपमा जनजीवन सामान्य बन्दै गएको भए पनि सर्वसाधारणमा अनिश्चितता र आर्थिक दबाब कायम छ ।

यसैबीच, इजरायल र लेबनानबीच छुट्टै युद्धविराम घोषणा भइसकेको छ, जसमा हिजबुल्लाह पनि संलग्न छ । वासिङ्टनमा पुनः वार्ताको तयारी भइरहे पनि दक्षिणी लेबनानमा छिटपुट हिंसा जारी छ । इजरायलले केही क्षेत्रमा नागरिकलाई नफर्कन चेतावनी दिएको छ ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले लेबनानमा एक फ्रान्सेली शान्तिरक्षकको हत्या भएको घटनाको निन्दा गरेको छ । उक्त घटनामा हिजबुल्लाहलाई दोष दिइएको छ । इजरायल–हिजबुल्लाह द्वन्द्वका कारण लेबनानमा हालसम्म हजारौँको ज्यान गइसकेको सरकारी तथ्याङ्कले देखाएको छ ।

अमेरिका–इरान वार्ताको अर्को महत्वपूर्ण मुद्दा इरानको समृद्ध युरेनियम भण्डार पनि बनेको छ । ट्रम्पले इरान उक्त भण्डार हस्तान्तरण गर्न तयार भएको दाबी गरे पनि इरानले त्यसलाई अस्वीकार गर्दै युरेनियम हस्तान्तरण नगर्ने स्पष्ट पारेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ताले यस्तो विषय वार्तामा कहिल्यै विकल्पका रूपमा प्रस्तुत नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?