इरानलाई ट्रम्पको चेतावनी : ‘बुधबारसम्म सम्झौता नभए फेरि सैन्य कारबाही हुन्छ’

लोकपथ
161
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम सम्झौता आउँदो बुधबारसम्म नभए सैन्य कारबाही पुनः सुरु हुने चेतावनी दिएका छन् ।

एरिजोनाबाट वासिङटन फर्कने क्रममा एयर फोर्स वानमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले इरानले शत्रुतापूर्ण गतिविधि अन्त्य गर्न सहमत नभए युद्धविराम निरन्तर नहुने बताएका हुन् ।

उनले इरानी बन्दरगाहमाथिको नाकाबन्दी जारी रहने र आवश्यक परे पुनः बमबारी सुरु गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।

ट्रम्पको भनाइलाई इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबफले अस्वीकार गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले ट्रम्पले एकै घण्टामा सात वटा गलत दाबी गरेको आरोप लगाउँदै इरानले अनिश्चितकालका लागि युद्ध रोक्न वा संवर्धित युरेनियम बुझाउन सहमति नगरेको स्पष्ट पारेका छन् ।

गालिबफले चेतावनी दिँदै अमेरिकी नाकाबन्दी जारी रहे होर्मुज जलमार्ग बन्द गर्न सकिने र त्यहाँको आवतजावत इरानको अनुमतिमा मात्र हुने बताएका छन् ।

यसैबीच, तनावका बीच कूटनीतिक प्रयास भने जारी छन् । सोमबार पाकिस्तानको राजधानी इस्लामाबादमा अमेरिका र इरानबीच वार्ताको अर्को चरण हुने सम्भावना छ । दुवै देशका प्रतिनिधि आइतबार नै त्यहाँ पुग्ने जनाइएको छ ।

वार्ताको वातावरण बनाउन पाकिस्तानका सेना प्रमुख जनरल आसिम मुनीरले हालै तेहरानमा इरानी नेतृत्वसँग भेट गरेका थिए । कतारका अमिर र टर्कीका राष्ट्रपतिले पनि पाकिस्तानको शान्ति पहललाई समर्थन जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?