अमेरिका–इरान युद्ध : मध्यस्थताका लागि पाकिस्तानका प्रधानमन्त्री कतारमा

लोकपथ
0
Shares

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीचको युद्धविरामका प्रमुख मध्यस्थकर्ता, पाकिस्तानका प्रधानमन्त्रीले बिहीबार कतारका अमिरसँग भेट गरेका छन् ।

प्रधानमन्त्री शहबाज शरिफको कार्यालयका अनुसार उनले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग विशेष गरी मध्यपूर्वमा पछिल्लो क्षेत्रीय र अन्तर्राष्ट्रिय विकासक्रमका बारेमा छलफल गरेको जनाएको छ ।

भेटमा अमिरले मध्यपूर्वमा शान्ति स्थापना प्रयासका लागि पाकिस्तानको भूमिकाको प्रशंसा गर्दै यस क्षेत्रको सुरक्षा र स्थिरता सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समन्वय बढाउन र विशेष गरी ऊर्जा आपूर्ति श्रृङ्खलाको सहज प्रवाह कायम राख्नको लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

गत सप्ताहन्तमा इस्लामावादमा अमेरिकी र इरानी प्रतिनिधिमण्डलहरूबीच भएको उच्चस्तरीय वार्तापछि पाकिस्तानी प्रधानमन्त्रीले टर्कीए जाने कार्यक्रम तय गरेका छन् ।

अप्रिल ८ मा दुई हप्ताको युद्धविराम सुरु भएपछि मध्यपूर्वमा युद्ध स्थायी रूपमा अन्त्य गर्न पाकिस्तानमा भएको वार्ताले तत्काल सहमति जुटाउन नसकेपनि संवादको थालनी भने भएको छ।

इरानमाथि अमेरिका र इजरायलको आक्रमणका कारण फेब्रुअरीको अन्त्यतिर सुरु भएको युद्धको प्रारम्भमा कतारले ऊर्जा पूर्वाधारमा इरानको आक्रमणका कारण तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) उत्पादन रोक्न बाध्य भएको थियो ।

अमिरको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कतारका अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गर्नुभएको थियो, जसमा उनीहरूले युद्धले ‘ अन्तर्राष्ट्रिय समुद्री सुरक्षा, विश्वव्यापी ऊर्जा बजार र आपूर्ति श्रृङ्खलाको स्थिरता’ मा पारेको प्रभावका बारेमा छलफल गरेका थिए ।

ट्रम्पले इरानसँग पाकिस्तानमा दोस्रो चरणको सम्भावित शान्ति वार्ता यसै हप्ता पुनः सुरु हुन सक्ने सङ्केत गरेका छन् ।

अक्टोबरमा समाप्त भएको गाजा युद्धमा अमेरिका र इजिप्टको प्रमुख मध्यस्थकर्ता कतारले हालैका वर्षहरूमा ओमानसँगै इरानसँग मध्यस्थताको भूमिका खेलेको छ।

फेब्रुअरी २८ मा तेहरानमाथि आक्रमण भएपछि दोहाले तेहरानसँग मध्यस्थताको सम्भावनालाई बारम्बार अस्वीकार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?