काठमाडौं । बुद्ध एयरले नयाँ वर्ष २०८३ को सुरुवातदेखि सबै प्रकारमा टिकटमा रोयल क्लबको माइलेज प्रदान गर्ने भएको छ । यसअघि महँगो मूल्यको टिकटमा मात्रै दिँदै आएको माइलेज अब सस्तो टिकटमा समेत दिई माइलेजका आधारमा निःशुल्क टिकटसमेत दिने भएको हो ।
सोमबार बुद्ध एयरले पत्रकार सम्मेलन नै गरेर ‘रोयल क्लब’ नामक माइलेज कार्यक्रमको बिस्तार गरेको जानकारी दिएको हो । पहिले कार्यालयमै उपस्थित भएर लिनुपर्ने यो क्लब कार्ड अब डिजिटलरुपमा प्राप्त हुने र माइलेजका आधारमा छुट वा निःशुल्क टिकट पाइने जनाएको हो ।
पहिले पहिले महँगो शुल्कको रिफन्डेबल टिकटमा मात्रै दिँदै आएको रोयल क्लबको सुविधा अब सस्तो मूल्यको नन रिफन्डेबल टिकटमा समेत दिन लागिएको कम्पनीले जनाएको छ । यस्तो माइलेजले अब ग्राहकहरूले आफूसँग रहेको माइलेज प्रयोग गरी टिकटमा छुट लिने वा जम्मा गरेर निःशुल्क टिकट लिन सक्ने सुविधा प्रदान गरिएको कम्पनीले जनाएको हो ।

अब सबै यात्रु वा ग्राहकका लागि यो सुविधा उपलब्ध हुने र यस्तो माइलेजले निःशुल्क टिकटदेखि हवाई टिकट, सपिङ मल, होटेल आदिमा छुट वा एक्सचेन्ज गर्न सकिने सुविधासमेत हुने छ । बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले वार्षिक १६ करोड रुपैयाँ बराबरको माइलेज छुट दिन लागिएको जानकारी गराए ।
अब सस्तो टिकटमा पनि माइलेज सुविधा
बुद्ध एयरले सन् २००२ बाट नै रोयल क्लब कार्डको व्यवस्था गरी माइलेज जोडेर निःशुल्क टिकट दिने गरेको थियो । यसअघि ‘वाई’, ‘ए’, र ‘बी’ क्लासको रिफन्डेबल टिकटमा मात्रै माइलेज प्वाइन्ट उपलब्ध गराउने गरिएकामा २०८३ सालबाट भने सबै टिकटमा माइलेज प्वाइन्ट प्राप्त हुने बुद्ध एयरले जनाएको छ । बुद्ध एयरका सेल्स एन्ड मार्केटिङ डाइरेक्टर रूपेश जोशीका अनुसार यो व्यवस्थासँगै अब सबै यात्रुले माइलेज प्राप्त गरी उडानमा छुट वा निःशुल्क टिकट प्राप्त गर्नेदेखि सपिङ मलहरूमा समेत छुट पाउनेछन् ।
अहिले बुद्ध एयरले काठमाडौंबाट पोखरामा हुने नन-रिफन्डेबल टिकटको उडानमा समेत यात्रुलाई ११२ माइलेज प्वाइन्ट प्राप्त हुनेछ । पहिलो पटक कार्ड बनाई यसरी माइलेज प्राप्त गर्दा दोस्रो उडानमा ११२ रुपैयाँ नै छुट अर्थात् लाग्ने मूल्यमा घटाएर तिर्न सकिने छ ।
यात्रुले निश्चित माइलेज प्वाइन्ट संकलन गरेपछि आफू तथा परिवारका सदस्यका लागि छुट तथा निःशुल्क टिकट लिन सक्ने व्यवस्था गरिएको जोशीले बताए । पहिले यस्तो सुविधा काउन्टरबाट मात्रै दिने गरिएकामा अब मोबाइल एप र वेबसाइटमार्फत पनि उपलब्ध हुने जनाइएको छ ।
यसअघि नन-रिफन्डेबल टिकटमा यात्रा गर्दा कुनै पनि माइलेज नपाउने गुनासो यात्रुहरूले गर्न थालेपछि कम्पनीले सबै यात्रुहरूलाई माइलेज दिने गरी व्यवस्था गरेको हो । यो माइलेज वा क्लब कार्डको व्यवस्था मुख्यतः बारम्बार यात्रा गर्नुपर्ने यात्रु अर्थात् फ्रिक्वेन्ट ट्राभलर्सका लागि तयार पारिएको हो । उनीहरूले प्रत्येक यात्राको माइलेज जम्मा गरी पछि निःशुल्क टिकट समेत काट्न सक्नेछन् । पहिले एकै क्षेत्रको ९ वटा टिकट काटेपछि एउटा निःशुल्क टिकट प्राप्त हुने गरी क्लब कार्डको व्यवस्था गरिएको थियो ।

बुद्ध एयरका संस्थापक वीरेन्द्र बहादुर बस्नेतले एयरलाइन्सले सबै ग्राहकलाई रोयल क्लबको मेम्बर दिँदा उनीहरूले अब वार्षिक करिब १६ करोड रुपैयाँ बराबरको डिस्काउन्ट पाउने बताए । अहिले नै रोयल क्लबको मेम्बर बन्दा १०० माइलेज पोइन्ट पाउने र त्यो पोइन्ट आगामी टिकट खरिद गर्दा रकम घटाउन सकिने समेत बताए । अहिले एक पोइन्टको १ रुपैयाँ कायम गरिएको उनले बताए । अब सबैलाई रोयल क्लबको सदस्य बनाएसँगै एयरलाइन्सको ग्राहक सङ्ख्यामा समेत वृद्धि हुने उनले बताए ।
माइलेज प्रयोग गरेर सामान खरिदको समेत अवसर
बुद्ध एयरले अब रोयल क्लबका सदस्यहरूले हवाई यात्रामा मात्रै नभई साझेदार व्यवसायहरूबाट पनि माइलेज प्वाइन्ट प्रयोग गरी छुट वा भुक्तानी गर्न सक्ने जनाएको छ । अब केही सुपर मार्केट, किराना पसल, होटेल, रिसोर्ट तथा गिफ्ट सपहरुमा यस्तो कार्ड वा माइलेजको प्रयोग गर्न सक्ने गरी केही सम्झौता भइसकेको र केही सम्झौता हुने क्रममा रहेको जनाएको छ ।
बुद्ध एयरका अनुसार यसरी फ्रिक्वेन्ट ट्राभल गर्ने यात्रुलाई प्रदान गरिने रोयल क्लबको माइलेजले परिवारका सदस्यका लागि टिकट किन्न सकिने वा परिवारका सदस्यलाई समेत निःशुल्क टिकट दिन सकिने व्यवस्थासमेत गरेको छ ।
बुद्ध एयरमा अहिले नै १ लाख ८५ हजार रोयल क्लब सदस्य रहेको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया