काठमाडौं । हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि उत्पन्न भागदौडमा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
स्थानीय मिडियाका अनुसार घटनापछि सरकारले गहिरो दुःख व्यक्त गर्दै अनुसन्धान अघि बढाएको छ ।
सरकारी अधिकारीहरूले फेसबुकमार्फत जारी गरेको विज्ञप्तिमा यो घटना शनिबार मिलोटस्थित युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत १९ औँ शताब्दीको किल्लामा भएको ‘पर्यटकीय गतिविधि’ का क्रममा भएको जनाएका छन् । उक्त स्थलमा धेरै युवाहरू सहभागी भएका कार्यक्रमका बेला अचानक भीड नियन्त्रणबाहिर जाँदा दुर्घटना भएको बताइएको छ ।
हाइटीको उत्तरी नागरिक सुरक्षा विभागका प्रमुख जिन हेनरी पेटिटले स्थानीय पत्रिकाले नोभेलिस्टलाई दिएको जानकारीअनुसार प्रारम्भिक रूपमा कम्तीमा ३० जनाको मृत्यु पुष्टि भएको छ । उनले अझै ठूलो सङ्ख्यामा मानिसहरू हराइरहेकाले मृतक सङ्ख्या बढ्न सक्ने बताए ।
घटनामा घाइते भएका दर्जनौँलाई नजिकका अस्पतालहरूमा भर्ना गरिएको छ । यद्यपि, घाइतेहरूको यकिन सङ्ख्या सार्वजनिक गरिएको छैन ।
प्रारम्भिक विवरणअनुसार पर्यटकहरूलाई प्रवेशद्वारमा अत्यधिक भीडमा जम्मा गरिएको थियो । सोही क्रममा किल्लाबाट बाहिर निस्कन र प्रवेश गर्न खोज्ने समूहबीच ठेलमठेल हुँदा स्थिति नियन्त्रणबाहिर गएको बताइएको छ, जसले गर्दा भागदौड मच्चिएको हो ।
सरकारले घटनाको छानबिन जारी रहेको बताउँदै नागरिकहरूलाई संयमित र सतर्क रहन आग्रह गरेको छ । विज्ञप्तिमा सबै सम्बन्धित निकायहरूलाई तत्काल परिचालन गरिएको उल्लेख गर्दै पीडितहरूलाई आवश्यक सहयोग, उपचार र राहत प्रदान गर्न उच्च सतर्कता अपनाइएको जनाइएको छ ।
हाइटी सरकारले घटनाबारे विस्तृत अनुसन्धान अघि बढाइरहेको जनाएको छ भने थप विवरणहरू सङ्कलन भइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया