एउटा इतिहासको अन्त्य : गीत गाएर ‘गिनिज बुक’ मा रेकर्ड राखेकी आशा भोस्ले

लोकपथ
238
Shares

काठमाडौं । भारतीय संगीत स्वरयुग नै परिवर्तन गरेकी प्रख्यात गायिका आशा भोस्लेको आइतबार निधन भएको छ । ७ दशकभन्दा बढी समय भारतीय सिनेमा र संगीतलाई आफ्नो स्वरले समृद्ध बनाएकी भोस्लेको निधनले सम्पूर्ण कलाजगतलाई शोकमा डुबाएको छ । उनको ९२ वर्षको उमेरमा निधन भएको हो ।

मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचाररत रहँदा उनको निधन भएको चिकित्सकले पुष्टि गरेका छन् ।

चिकित्सकका अनुसार बहु–अङ्ग विफलताका कारण उनको निधन भएको हो ।

अस्पताल स्रोतका अनुसार अत्यधिक थकान र छातीमा सङ्क्रमण भएपछि भोस्लेलाई शनिबार साँझ अस्पताल भर्ना गरिएको थियो । उपचार जारी रहे पनि स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो ।

यसअघि उनकी नातिनी जनाई भोस्लेले सामाजिक सञ्जालमार्फत परिवारका लागि गोपनीयताको आग्रह गर्दै उपचार भइरहेको जानकारी दिएकी थिइन् ।

सन् १९३३ मा जन्मिएकी आशा भोस्लेले बाल्यकालदेखी नै आफ्नो संगीत यात्रा सुरु गरेकी थिन् । सन् १९५० को दशकदेखि भोस्लेको स्वर भारतीय चलचित्र संगीतमा अत्यन्त लोकप्रिय बन्दै गयो र विश्वकै चर्चित पाश्र्व गायिकाको रूपमा स्थापित भइन् ।

भावनात्मक गहिराइ, अनुकूलनीयता र बहुमुखी प्रतिभा उनको स्वरको विशेषता मानिन्छ । शास्त्रीय संगीतदेखि गजल, क्याब्रे, पप र लोकगीतसम्मको विभिन्न विधामा उनले अमिट छाप छोडेकी छन् ।

भोस्लेले हजारौँ गीत रेकर्ड गर्दै भारतीय संगीतलाई विश्वस्तरमा चिनाउन महत्वपूर्ण योगदान दिएकी थिइन् ।

उनले प्रमुख संगीतकार तथा चलचित्र निर्मातासँगको सहकार्यले हिन्दी चलचित्र संगीतलाई नयाँ उचाइमा पुर्‍याएको मानिन्छ ।

उनलाई भारतीय सरकारले प्रतिष्ठित दादासाहेब फाल्के पुरस्कार तथा पद्मविभूषण सहितका उच्च सम्मानले सम्मानित गरेको थियो । सन् २०११ मा गिनिज वल्र्ड रेकर्डले भोस्लेलाई संगीत इतिहासमा सबैभन्दा धेरै रेकर्ड गरिएको कलाकारका रूपमा मान्यता दिएको थियो । उनी ‘दिल चीज क्या है’, ‘पिया तु अब तो आजा’, ‘मेरा कुछ सामान’ र ‘चुरा लिया है तुमने’ जस्ता उहाँका गीतहरू आज पनि कालजयी मानिन्छन् ।

उनको निधनपछि भारतभर तथा अन्तर्राष्ट्रिय स्तरमा शोक व्यक्त गरिएको छ । कलाकार, प्रशंसक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले उनको योगदानलाई स्मरण गर्दै भारतीय संगीतमा भोस्लेको स्थान अपूरणीय रहेको बताएका छन् ।

हिन्दी मात्र होइन भोस्लेले नेपाली चर्चित गीतहरु समेत गाएकी छन् ।

भोस्लेले ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘म प्यार बेचिदिन्छु’, ‘गैरीखेतको शिरै हान्यो’, ‘मोहनी लाग्ला है’, ‘झझल्को लिएर आएछ सावन’, ‘साउने झरीमा’, ‘नयाँ नयाँ सजाऔँ है संसार’, ‘के सोचेँ मैले के भयो अहिले’, ‘किन बढ्दै छ ढुकढुकी मुटुको’, ‘पहाडको माथिमाथि’, ‘तिम्रो मनमा लुकेको कुरा’, ‘टाढा भइ नजाऊ कहिल्यै’ लगायत नेपाली गीत गाएर नेपाली भाषा, गीतसङ्गीतमा ठूलो योगदान दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?