काठमाडौं । पाकिस्तानको मध्यस्थतामा इरान र अमेरिकाबीच अस्थायी युद्धविराम भएको भोलिपल्टै इरानले सम्झौताका तीन सर्त उल्लंघन भएको आरोप लगाएको छ । यसमा उसले लेबनानमा इजरायलले जारी राखेको आक्रमण पनि उल्लेख गरेको छ । इरानको यो आरोपसँगै युद्धविरामप्रति संशय उत्पन्न भएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकालाई युद्धविराम र युद्धमा एउटा रोज्न विकल्प दिएकाले संशय झनै बढेको छ ।
उता, इरानको संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले विज्ञप्ति नै जारी गरी दसबुँदे प्रस्तावका तीन सर्त उल्लंघन गरिएको जनाएका छन् । जसमा अमेरिकी ‘व्यवहार’ लाई कारण मानिएको छ ।
इरानी सभामुख गालिबाफले विज्ञप्तिमा भनेका छन्, ‘अमेरिकी राष्ट्रपतिले स्पष्ट रूपमा भनेका थिए कि इरानको दसबुँदे प्रस्ताव वार्ताको ’आधार’ हो । तर अहिलेसम्म यस प्रस्तावका तीन हिस्सा उल्लंघन गरिएको छ ।’
विज्ञप्तिमा लेखिएको छ, ‘हामीले अमेरिकालाई विश्वास नगर्नुको कारण भनेको आफ्नो वाचा बारम्बार तोड्ने उसको लामो समयदेखिको बानी हो । यो दुर्भाग्यपूर्ण छ कि उसले फेरि आफ्नो उही प्रवृत्ति दोहो¥याएको छ ।’
इरानले इजरायलले लेबनानमा पछिल्लो पटक गरेको आक्रमणप्रति चर्को असन्तुष्टि जनाएको छ । इजरायलले इरानमा बुधबार गरेको आक्रमणमा २५४ जनाको मृत्यु र १ हजार १६५ भन्दा बढी व्यक्ति घाइते भएको जनाइएको छ । यो घटनापछि लेबनानमा राष्ट्रिय शोक घोषणा गरिएको छ ।

लेबनानी नागरिक रक्षा टोलीका अनुसार बेरुत, बालबेक, हर्मेल, नाबाटिएह, एले जिल्ला, सिदोन र टायरमा भीषण हमला गरिएको हो ।
तर अमेरिका र इजरायल दुवैले युद्धविराममा लेबनान समावेश नभएको दाबी गरेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बुधबार नै युद्धविरामप्रति समर्थन गर्ने तर त्यसमा लेबनान नपर्ने बताएका थिए । उनले लेबनानमा हिजबुल्लाह लक्षित आक्रमण जारी रहने पनि घोषणा गरेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि लेबनान युद्धविराममा नसमेटिएको बताएका छन् । ‘लेबनानमा भइरहेको अर्कै विषय हो, त्यो युद्धविराममा समावेश छैन,’ उनले भनेका छन् ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बुधबार नै बुडापेस्टमा पत्रकारहरूसँगको कुराकानीमा युद्धविरामको दायरामा लेबनान नपर्ने बताएका थिए । ‘इरानले सायद लेबनान पनि युद्धविराममा पर्छ भन्ने सोचेको हुन सक्छ, तर त्यस्तो होइन,’ उनले भनेका थिए ।
इरानले अमेरिका र इजरायलको पछिल्लो गतिविधिले वार्ताको औचित्य नरहने बताएको छ ।
इरानले भनेको छ, ‘लेबनानमा पनि युद्धविराम गरिने सर्त पालना गरिएन । जबकि मध्यस्थकर्ता मुलुक पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले पनि स्पष्ट रूपमा भनेका थिए कि युद्धविराम तुरुन्तै लागु गरिनुपर्छ लेबनान र अन्य क्षेत्रमा पनि ।’
इरानी सभामुख गालिबाफले थप भनेका छन्, ‘जुन प्रस्तावमा वार्ता गरिनुपर्ने थियो, त्यो छलफल सुरु हुनुभन्दा अगाडि नै तोडिएको छ । यस्तो अवस्थामा दुईतर्फी युद्धविराम वा वार्ताको कुनै अर्थ छैन ।’
मंगलबार राति दुई साताका लागि युद्धविराम गर्ने सहमति गरेका अमेरिका र इरानका प्रतिनिधिबीच शुक्रबार (अप्रिल १० मा) पाकिस्तानको इस्लामाबादमा स्थायी शान्तिका लागि वार्ता हुने बताइएको थियो ।
त्यसअघि इरानले अमेरिकालाई दसबुँदे प्रस्ताव पठाएको थियो । जसमा आक्रमण पूर्ण रूपमा अन्त्य, सबै प्रतिबन्ध हटाउनुपर्ने, आफ्ना सबै फ्रिज फन्ड तथा सम्पत्ति फिर्ता गरिनुपर्ने, युद्धको स्थायी अन्त्य, मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाबाट अमेरिकी सेना फिर्ता गर्नुपर्ने, युद्धका क्रममा भएका क्षतिबापत आर्थिक मुआब्जा वा पुनर्निर्माणको व्यवस्था गरिनुपर्ने, होर्मुज स्ट्रेटमा इरानको नियन्त्रण हुनुपर्ने, होर्मुज स्ट्रेटबाट आफ्ना सेनासँगको समन्वयमा जहाजहरूलाई आवतजावतका लागि अनुमति दिइनुपर्ने, होर्मुज स्ट्रेट भएर आवतजावत गर्ने प्रतिजहाज लगभग २० लाख डलर शुल्क पाउनुपर्ने र लेबनानमा हेजबुल्लाहविरुद्ध आक्रमणसहित क्षेत्रीय आक्रमण पनि अन्त्य गरिनुपर्ने उल्लेख थियो । इरानले सर्तविपरीत अमेरिकाले परमाणु कार्यक्रम त्याग्न दबाब दिएको पनि जिकिर गरेको छ ।
‘यस्तो परिस्थितिमा द्विपक्षीय युद्धविराम वा वार्ता अघि बढाउनु उचित हुँदैन,’ इरानी सभामुख गालिबाफको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ ।
लेबनानमा हमलापछि इरानले हर्मुजमा अवरोध कायम राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । विभिन्न कम्पनीका जहाजहरू युद्धविरामबारे प्रस्ट नभएकाले तत्काल जलमार्ग प्रयोग नगर्ने मनस्थितिमा छन् ।
उता, इजरायली प्रधानमन्त्री नेतन्याहूले इजरायल जुनसुकै बेला युद्धमा फर्किन तयार रहेको बताएका छन् ।
उता, युद्धविरामका लागि मुख्य मध्यस्थकर्ताको भूमिका खेलेको पाकिस्तानले दुवै दीर्घकालीन शान्तिका लागि थप छलफल गर्न शुक्रबार इस्लामावादमा निम्तो दिएको छ । यद्यपि पछिल्लो घटनाक्रमहरूले संवाद अघि बढ्नेमा शंका उत्पन्न भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया